दुरुपयोग भएका सरकारी गाडी मन्त्रालयमा फिर्ता ल्याइँदै
कोशी आवाज २०८३ वैशाख १५ गते मंगलबार ।
विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका निकायहरूमा दुरुपयोग भइरहेका सरकारी सवारी साधन फिर्ता ल्याउन सुरु गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको निर्देशनपछि विभिन्न बहानामा प्रयोग हुँदै आएका गाडीहरू मन्त्रालयमा तान्न थालिएको हो। सवारी सुविधा नपाउने कर्मचारीहरूले समेत सरकारी गाडी प्रयोग गरिरहेको जानकारी प्राप्त भएपछि यस्तो कदम चालिएको मन्त्रालयले जनाएको छ।
फिर्ता ल्याइएका सवारी साधनहरू हाल मन्त्रालय परिसरमै राखिएको छ। ती गाडीहरू आवश्यकता र कानुनी प्रावधानअनुसार मन्त्रालयका कर्मचारीले प्रयोग गर्ने व्यवस्था गरिने बताइएको छ।
प्रचलित कानुनअनुसार सह–सचिव वा सोभन्दा माथिल्लो तहका पदाधिकारीहरूले मात्र सरकारी सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था रहेको छ।