छठ पर्वअघि नदी प्रदूषण रोक्न दुहबी नगरपालिकासँग छठ पूजा समितिको माग ।

छठ पर्वअघि नदी प्रदूषण रोक्न दुहबी नगरपालिकासँग छठ पूजा समितिको माग ।

कोशी आवाज २०८३ कार्तिक १३ गते शुक्रबार ।

बिराटनगर । छठ पर्व नजिकिँदै गर्दा उद्योगबाट निस्कने फोहोर तथा रासायनिक पदार्थ मिसिएको दूषित पानी नदी तथा नालामा मिसाउने कार्य रोक्न छठ पूजा समिति–२०८३, दुहबीले नगरपालिकासँग माग गरेको छ।समितिले दुहबी नगरपालिकाका उपप्रमुखसमक्ष निवेदन पेस गर्दै छठ पर्वका बेला नदी, पोखरी तथा जलाशयको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको हो।

समितिका अध्यक्ष चन्दन कुमार बैठा र सचिव सुरज कुमार रौनियारद्वारा हस्ताक्षरित निवेदनमा उद्योगबाट निस्कने दूषित पानीका कारण जल प्रदूषण बढ्दै गएको उल्लेख गरिएको छ। यस्तो प्रदूषणले छठ पर्वमा पूजा गर्न जाने श्रद्धालु भक्तजनको स्वास्थ्यमा असर पार्नुका साथै जलचर, जैविक विविधता र वातावरणमा समेत नकारात्मक प्रभाव पारिरहेको समितिको भनाइ छ।

समितिले उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन नगरी नदी तथा नालामा मिसाउन रोक लगाउन, सम्बन्धित उद्योग तथा कारखानाको नियमित अनुगमन गर्न र प्रदूषण फैलाउने उद्योगलाई प्रचलित कानुनअनुसार कारबाही गर्न नगरपालिकासँग माग गरेको छ।

त्यसैगरी, छठ पूजा गरिने नदी तथा घाटहरूको सरसफाइ गरी श्रद्धालु भक्तजनलाई स्वच्छ र सुरक्षित वातावरणमा पूजा गर्ने व्यवस्था मिलाउन पनि समितिले आग्रह गरेको छ।

धार्मिक आस्था, जनस्वास्थ्य र वातावरण संरक्षणसँग जोडिएको विषय भएकाले नगरपालिकाले समयमै ध्यान दिई आवश्यक कदम चाल्नुपर्ने समितिको माग छ।