

कोशी आवज
रंगेली :नवलपरासीको बर्दघाट–सुस्ता पश्चिमको कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ ।
भित्रि सडकखण्डको जङ्गल क्षेत्रमा लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा रहेका कावासोती नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
यस्तै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा टिप्पर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको टिप्पर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा करिब एक सय मिटर तल खस्दा नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय चालक लवकुश अधिकारीको मृत्यु भएको हो।
यसअघि पनि मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र बालुवा अनलोड गर्न टिप्पर ब्याक गर्ने क्रममा बा२क ३४६४ नम्बरको टिप्पर डिलबाट सात मिटर तल खसेर दुर्घटना हुँदा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो।