ऊर्जाशील पार्टीका केन्द्रीय नेतासहित विभिन्न दलका दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश ।
कोशी आवाज २०८३ असार ६ गते शनिबार ।
विराटनगर । राष्ट्रिय ऊर्जाशील पार्टी नेपालका केन्द्रीय सदस्यद्वय धर्मेन्द्र ऋषिदेव र अनिल खतिवडासहित विभिन्न राजनीतिक दलका दर्जनौं नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
एमाले विराटनगर–१५ वडा कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विराटनगर महानगरपालिका तथा मोरङको बूढीगंगा गाउँपालिकाका विभिन्न दलका कार्यकर्तालाई अबिर, माला र खादा लगाएर पार्टीमा स्वागत गरिएको थियो।
एमालेका अनुसार राष्ट्रिय ऊर्जाशील पार्टीका संस्थापक केन्द्रीय सदस्य तथा गत प्रतिनिधिसभा निर्वाचनका समानुपातिक उम्मेदवार धर्मेन्द्र ऋषिदेव र अनिल खतिवडा एमालेमा प्रवेश गरेका हुन्। नवप्रवेशी ऋषिदेव मुसहर संघ कोशी प्रदेशका कार्यवाहक अध्यक्षसमेत रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज ऋषिकेश पोखरेल र विशिष्ट अतिथि एमाले केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की सहभागी थिए। उहाँहरूले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै एमालेको सदस्यता ग्रहण गराएका थिए।
सो अवसरमा बोल्दै प्रमुख अतिथि पोखरेलले मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिको एजेन्डाका कारण नागरिकको आकर्षण एमालेतर्फ बढिरहेको दाबी गरे। विभिन्न दलका नेता तथा कार्यकर्ताको एमालेप्रतिको विश्वासले पार्टीको जनाधार थप सुदृढ हुँदै गएको उनको भनाइ थियो।
विशिष्ट अतिथि कार्कीले एमालेले समावेशी विकास र जनमुखी राजनीतिको अभ्यास गरिरहेको उल्लेख गर्दै नवप्रवेशीलाई पार्टीभित्र सम्मानजनक भूमिका दिइने बताइन्।
एमाले वडा नं. १५ का अध्यक्ष भिखारी खत्वेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सदस्यहरू बाबुराम कार्की, विक्रम तिवारी, रिता न्यौपाने, मनोज अग्रवाल र सन्तोषी श्रेष्ठ, एमाले विराटनगर महानगर अध्यक्ष बलराम गिरि, उपसचिव हमिद अजाद तथा विराटनगर–१४ का वडाध्यक्ष सूर्यनारायण महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए।
एमालेले विराटनगर–१५, १६, १७, १८ तथा बूढीगंगा गाउँपालिकाबाट उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेको जनाएको छ। पार्टीले यसलाई संगठन विस्तार र आगामी राजनीतिक समीकरणका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ।