लागुऔषध दुर्व्यसनः व्यक्ति, परिवार र समाजका लागि गम्भीर चुनौती, रोकथाम र पुनर्स्थापनामा जोड दिनुपर्ने ।

लागुऔषध दुर्व्यसनः व्यक्ति, परिवार र समाजका लागि गम्भीर चुनौती, रोकथाम र पुनर्स्थापनामा जोड दिनुपर्ने ।

कोशी आवाज २०८३ कार्तिक १७ गते मंगलवार ।

बिराटनगर । नेपालमा लागुऔषध दुर्व्यसन गम्भीर सामाजिक तथा जनस्वास्थ्य समस्याका रूपमा बढ्दै गएको भन्दै यसको रोकथाम, नियन्त्रण, उपचार र पुनर्स्थापनामा राज्य तथा समाजले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ।बि. फार्म विद्यार्थी तथा काठमाडौं विश्वविद्यालयका विद्यार्थी धिरज कुमार चौधरीले ‘लागुऔषध दुर्व्यसन : चुनौती, वास्तविकता र समाधान’ शीर्षकको लेखमार्फत लागुऔषध दुर्व्यसनलाई केवल अपराधका रूपमा नभई जनस्वास्थ्य र सामाजिक समस्याका रूपमा समेत सम्बोधन गर्नुपर्ने बताएका छन्।

उनका अनुसार किशोरकिशोरी तथा युवावर्ग साथीहरूको दबाब, जिज्ञासा, गलत संगत, मानसिक तनाव, पारिवारिक विवाद, बेरोजगारी र सामाजिक एक्लोपनजस्ता कारणले लागुऔषधको जोखिममा पर्न सक्छन्। सुरुमा सामान्य प्रयोगका रूपमा देखिने यस्तो व्यवहार विस्तारै निर्भरता र दुर्व्यसनमा परिणत हुन सक्ने भएकाले समयमै पहिचान र परामर्श आवश्यक रहेको उनको भनाइ छ।

लेखमा उल्लेख गरिएअनुसार सन् २०१९ मा प्रकाशित ‘Hard Drug Users in Nepal’ प्रतिवेदनले नेपालमा १ लाख ३० हजार ४२५ जना लागुऔषध प्रयोगकर्ता रहेको र प्रयोगकर्ताको सङ्ख्या वार्षिक ५.०६ प्रतिशतका दरले वृद्धि भइरहेको देखाएको छ। त्यस्तै, लागुऔषध प्रयोगमा महिलाको संलग्नता तथा उनीहरूले भोग्नुपर्ने सामाजिक लाञ्छना र उपचार सेवामा पहुँचको समस्याप्रति पनि ध्यानाकर्षण गराइएको छ।

लागुऔषधको प्रयोगले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य, स्मरणशक्ति, निर्णय क्षमता, पढाइ र रोजगारीमा असर पार्नुका साथै पारिवारिक सम्बन्ध, आर्थिक अवस्था र सामाजिक सुरक्षामा समेत नकारात्मक प्रभाव पार्न सक्ने लेखमा उल्लेख छ।

चौधरीले लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रहरीको कारबाही मात्र पर्याप्त नहुने उल्लेख गर्दै विद्यालय तथा कलेजमा जनचेतनामूलक कार्यक्रम सञ्चालन, जोखिमयुक्त क्षेत्रको पहिचान, अवैध बिक्री तथा ओसारपसारमाथि निष्पक्ष अनुसन्धान, समुदायस्तरमा सुरक्षित उजुरी प्रणाली र स्थानीय सरकार, प्रहरी, स्वास्थ्य संस्था तथा युवा क्लबबीच समन्वय आवश्यक रहेको बताएका छन्।

त्यसैगरी, लागुऔषध प्रयोगसम्बन्धी समस्यामा परेका व्यक्तिलाई आवश्यक उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनाको अवसर प्रदान गर्नुपर्नेमा उनले जोड दिएका छन्। नियन्त्रणको सफलता पक्राउ र बरामदको सङ्ख्याबाट मात्र नभई रोकथाम, उपचारमा पहुँच र पुनर्स्थापनाको उपलब्धिबाट पनि मूल्याङ्कन गर्नुपर्ने उनको सुझाव छ।

लेखको निष्कर्षमा लागुऔषध दुर्व्यसनमा फसेका व्यक्तिलाई घृणा वा सामाजिक बहिष्कार गर्नुभन्दा उपचार र पुनर्स्थापनाको अवसर दिनुपर्ने उल्लेख गरिएको छ। युवालाई समस्याका रूपमा मात्र नभई समाधानको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा अघि बढाउन सके लागुऔषध दुर्व्यसन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने चौधरीको धारणा छ।

धिरज कुमार चौधरी
**बि. फार्म विद्यार्थी, काठमाडौं विश्वविद्यालय**