रङ्गेलीमा ऐलानी जग्गा किर्ते र गालीगलौज प्रकरण : तरुण विभागकी सदस्य लिला खरेल पक्राउ । कोशी आवज २०८२ कार्तिक २१ गते शुक्रबार ।
मोरङ, रंगेली । रङ्गेली नगरपालिका–२ (साबिक बबिया बिर्ता–३) मा रहेको ऐलानी जग्गा किर्ते गरी आफ्नो नाममा लिएको आरोपमा एक व्यक्तिले छविलाल खरेल, विरुद्ध रङ्गेली नगरपालिकामा जानकारी गराएको थियो।
उक्त जग्गा हुलाकी राजमार्गसँग जोडिएको कित्ता नम्बर १७४ मा रहेको एक बिघा १९ धुर क्षेत्रफलको हो। नगरपालिकामा प्राप्त जानकारीअनुसार, यो जग्गा ऐलानी (सरकारी) भएको हुँदा व्यक्तिको नाममा दर्ता गरिएको विषयमा नगरपालिकाले छानबिन अघि बढाएको थियो।
छानबिनका क्रममा रङ्गेली नगरपालिकाले कार्यपालिकाको बैठक बोलाएर रङ्गेली मालपोत कार्यालयलाई पत्राचार गरी सत्य–तथ्य विवरण माग गरेको थियो। नगरपालिकाको पत्रका आधारमा मालपोत कार्यालयले छविलाल खरेललाई सात दिनभित्र प्रमाण पेश गर्न निर्देशन दिएको थियो। तर, खरेलले प्रमाण पेश गर्न नसकेपछि मालपोत कार्यालयले सो जग्गा (कित्तानम्बर १७४) खारेज गरेको थियो।
सोही प्रकरणमा जग्गा किर्ते गरेको अ ठहर गर्दै अनुसन्धानका लागि छविलाल खरेल, छोरा लिला खरेल र लिला खरेलकी पत्नी र साली विरुद्ध मुद्दा दायर गरेको थियो।
उक्त विषयलाई लिएर पछिल्लो समयमा रङ्गेली नगरप्रमुख दिलीप कुमार अग्रवालसँग लिला खरेलबीच फोनमा तीव्र विवाद भएको र खरेलले मेयरलाई गालीगलौज गरेको भन्ने जानकारी प्राप्त भएको छ। मेयर अग्रवालले सो घटनाको लिखित निवेदन जिल्ला प्रहरी कार्यालय, विराटनगरमा दिएका थिए।
उक्त निवेदनको आधारमा प्रहरीले लिला खरेललाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
स्थानीय स्रोतका अनुसार, मेयर अग्रवाल र लिला (लीलाराज) खरेलबीचको विवाद नयाँ नभई वर्षौँदेखि चल्दै आएको बताइन्छ। पछिल्लो घटनाले रङ्गेलीको राजनीतिक वृतमा पुनः चर्को बहस र चर्चा निम्त्याएको छ।
रङ्गेली नगरपालिका नगरप्रमुख दिलीप बगडिया र लिलाराज खरेलबीचको पछिल्लो विवाद व्यक्तिगत दुश्मनीको कारण भएको आशंका गरिएको छ। स्थानीयहरूका अनुसार, रङ्गेली क्षेत्रमा अन्य धेरै जग्गा किर्ते प्रकरण भएका भए पनि नगरपालिका मौन रहँदा यो प्रकरणमा मात्र कडा कारबाही भएको देखिन्छ। यसले दुवैबीचको व्यक्तिगत मनमुटावको असर परेको जस्तो देखिन्छ।