मनोज कुमार अग्रवालद्वारा ९ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक ।
कोशी आवाज २०८२ फागुन ४ गते सोमबार ।
विराटनगर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मनोज कुमार अग्रवालले आफ्नो ९ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। उनी नेकपा (एमाले)का तर्फबाट मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
सोमबार आयोजित कार्यक्रममा अग्रवालले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएको उल्लेख गर्दै क्षेत्र नम्बर ५ को समग्र विकास र उत्थानका लागि उम्मेदवारी दिएको बताए। विकास निर्माणका हिसाबले पछाडि परेको क्षेत्रलाई रूपान्तरण गर्ने लक्ष्यसहित प्रतिबद्धतापत्र सार्वजनिक गरिएको उनले स्पष्ट पारे।
पूर्वाधार र सडक विकास
अग्रवालले रंगेली–विराटनगर जोड्ने हुलाकी मार्गलाई मापदण्डअनुसार स्तरोन्नति गरी आधुनिक नमुना मार्गका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। साथै विराटनगर–१३ देखि १८ सम्मका वडा, जहदा गाउँपालिका, धनपालथान गाउँपालिका तथा रंगेली नगरपालिकाका वडा नम्बर ४, ५, ६ र ७ भित्रका सबै सडक पाँच वर्षभित्र ढलसहित कालोपत्रे गरिने योजना अघि सारे।
कृषि, सिँचाइ र तटबन्धन
कृषि क्षेत्रको विकासका लागि धनपालथान र जहदालाई विशेष कृषि जोनका रूपमा विकास गर्ने योजना प्रस्तुत गर्दै उनले बक्राहा चिसाङ, लोहन्द्रा, सिघिंया र केशलिया खोलालाई सिँचाइ प्रयोजनमा उपयोग गर्ने तथा बाढी कटान रोक्न तटबन्धन निर्माण गरिने बताए।
शिक्षा र स्वास्थ्य
सबै सामुदायिक विद्यालयहरूको स्तरोन्नति गरी शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विशेष कार्यक्रम ल्याइने उनले उल्लेख गरे। रंगेली अस्पताललाई सुविधा सम्पन्न बनाउने तथा धनपालथान, जहदा र विराटनगर–रानी क्षेत्रमा थप अस्पताल निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
उद्योग, व्यापार र रोजगारी
विराटनगर–रानी मिल्स क्षेत्रमा रहेका जुट मिल, सुगर मिल, जुद्ध म्याच फ्याक्ट्रीलगायत बन्द उद्योग पुनः सञ्चालनमा ल्याउने तथा बाँकी सरकारी जमिनलाई ‘विराट औद्योगिक क्षेत्र’ घोषणा गरी नयाँ उद्योग स्थापना गर्ने योजना रहेको उनको भनाइ छ।
सामाजिक र सांस्कृतिक पक्ष
क्षेत्रका मठमन्दिर, मस्जिद, बौद्ध गुम्बा र चर्चहरूको पुनर्निर्माण तथा स्तरोन्नति गरिने, शान्ति सुरक्षा र सुशासन कायम गर्न पहल गरिने तथा भ्रष्टाचार नियन्त्रणमा सशक्त आवाज उठाइने उनले बताए। युवा, महिला, ज्येष्ठ नागरिक, निमुखा तथा अशक्त वर्गका समस्यामा विशेष ध्यान दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
अग्रवालले क्षेत्र नम्बर ५ लाई समग्र रूपमा विकसित र समृद्ध बनाउने लक्ष्यसहित प्रतिबद्धतापत्र सार्वजनिक गरिएको जनाउँदै चुनावमा जिते पनि नजिते पनि जनताको साथमै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।