दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ, श्रमिकबाट १ अर्ब ६९ करोडभन्दा बढी रकम असुली गरेको आरोप ।
कोशी आवाज २०८३ मङ्सिर २ गते बुधबार ।
बिराटनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी तथा संगठित अपराधको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवहरू उमेश ढुङ्गाना र राजिव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाइएको विषयमा अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा श्रमिकबाट संकलित रकममध्ये अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी नेपाली रुपैयाँ १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम विदेश पठाइएको आरोप छ।
सीआईबीका अनुसार पक्राउ परेकाहरूले कानुनी प्रक्रिया र नेपाल–मलेसिया समझदारीविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराएको तथा श्रमिकमाथि भइरहेको ठगी रोक्न आवश्यक कानुनी पहल नगरेको आरोप छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
जिल्ला अदालत काठमाडौं, बबरमहलबाट पक्राउ अनुमति लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेका सबैमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।