नेपाली राजनीतिमा वर्गीय वर्चस्व र आम नागरिकको राजनीतिक प्रयोगबारे मनोज कुमार राजवंशीको टिप्पणी ।
कोशी आवाज २०८३ मङ्सिर ४ शुक्रबार ।
मोरङ । नेपाली राजनीतिमा धनाढ्य, पहुँचवाला तथा प्रभावशाली वर्गको वर्चस्व कायम रहेको र आम नागरिकलाई चुनावी भीड तथा मत प्राप्त गर्ने माध्यमका रूपमा प्रयोग गरिँदै आएको भन्दै क. मनोज कुमार राजवंशीले चिन्ता व्यक्त गर्नुभएको छ।
राजवंशीले आफ्नो विचार सार्वजनिक गर्दै कम्युनिस्ट, नेपाली कांग्रेसदेखि आफूलाई नयाँ राजनीतिक शक्ति दाबी गर्ने दलहरूसम्म नेतृत्व चयन, राज्यका नियुक्ति र अवसरको वितरणमा पैसा, पहुँच, नातावाद, कृपावाद तथा गुटगत प्रभाव हाबी रहेको टिप्पणी गर्नुभएको छ।
उहाँका अनुसार श्रमिक, किसान, मध्यम तथा निम्न वर्ग, आदिवासी जनजाति, मधेशी, मुस्लिम, महिला र पछाडि पारिएका समुदायलाई राजनीतिक गतिविधिमा सहभागी गराइए पनि नेतृत्व तथा निर्णय प्रक्रियामा उनीहरूको उचित प्रतिनिधित्व हुन सकेको छैन।
राजनीतिक दलहरूले चुनावका बेला जनताको मत, समर्थन र भीड खोज्ने तर त्यसपछि उनीहरूको योगदान, संघर्ष र योग्यताको उचित मूल्यांकन नगर्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ।
राजवंशीले यो समस्या कुनै एउटा राजनीतिक दलमा मात्र सीमित नरहेको उल्लेख गर्दै पुराना तथा नयाँ सबै राजनीतिक शक्तिले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
उहाँले आम नागरिकलाई केवल मतदाता वा चुनावी भीडमा सीमित नराखी नेतृत्व गर्ने, निर्णय प्रक्रियामा सहभागी हुने र राज्य सञ्चालनमा समान अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।