रतुवामाई नगरपालिका–१ हटिया क्षेत्रमा खटिएको प्रहरी टोलीले दुई राउन्ड हवाई फायर गर्दै उनलाई नियन्त्रणमा ।
कोशी आवाज २०८३ बैशाख ८ गते मंगलवार ।
विराटनगर । मोरङ जिल्लामा ठूलो परिमाणको लागुऔषधसहित एक युवकलाई प्रहरीले नाटकीय ढंगले पक्राउ गरेको छ। सोमबार राति रतुवामाई नगरपालिका–१ हटिया क्षेत्रमा खटिएको प्रहरी टोलीले दुई राउन्ड हवाई फायर गर्दै उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सोही नगरपालिका–१ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँ रहेका छन्। भारतबाट नेपालतर्फ लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवा बाट खटिएको टोलीले उनलाई निगरानीमा राखेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङ का प्रमुख प्रहरी उपरीक्षक कवित कट्वालका अनुसार, भारतीय नम्बर प्लेट (बीआर ३८ एडी ५३९०) भएको मोटरसाइकलमा आएका मियाँले प्रहरी देखेपछि भाग्ने प्रयास गरेका थिए। त्यसपछि उनलाई रोक्न प्रहरी निरीक्षक कैलाश लिम्बूले चाइनिज पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेका थिए।
फायरपछि नियन्त्रणमा लिइएका मियाँको शरीर खानतलासी गर्दा पाँच पोका खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। उक्त लागुऔषधको तौल ४७५ ग्राम ८२० मिलिग्राम रहेको छ, जसको बजार मूल्य उच्च रहेको बताइएको छ।
हाल उनलाई इलाका प्रहरी कार्यालय सिजुवा मा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध तस्करी नियन्त्रण गर्न प्रहरीले पछिल्लो समय निगरानी र कारबाही तीव्र बनाएको छ।