चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर नेपाल सरकार उच्च सतर्कतामा ।
कोशी आवाज २०८३ कार्तिक १२ गते बिहीबार ।
बिराटनगर । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको सुरक्षा तथा अत्यावश्यक सेवाको सञ्चालनलाई प्रभावकारी बनाउन मातहतका निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको जनाएको छ।
भारतको आन्ध्र प्रदेश तथा विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको उक्त चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएको छ। नेपालमा अत्यधिक तीव्र हावाहुरीको जोखिम कम देखिए पनि वर्षा, हिमपात तथा केही स्थानमा हावाहुरीको सम्भावना कायम रहेको जनाइएको छ।
सम्भावित मौसमी जोखिमबाट नागरिकलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले विभिन्न स्थानमा माइकिङमार्फत सचेतना फैलाइरहेका छन्। साथै, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा जानुअघि आधिकारिक मौसम पूर्वानुमानको अद्यावधिक जानकारी लिएर मात्र यात्रा तय गर्न पर्यटक तथा पर्वतारोही टोलीलाई आग्रह गरेका छन्।
हवाई सुरक्षालाई प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको विवरणमा उल्लेख छ।
यसैगरी, विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले आ–आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गर्दै आवश्यक पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
सरकारले भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न, आधिकारिक निकायबाट जारी हुने सूचनालाई प्राथमिकता दिन र मौसमको अवस्था हेरेर आवश्यक सावधानी अपनाउन नागरिकलाई अपिल गरेको छ।
सम्भावित मौसमी जोखिमबाट बच्न नदी तथा खोलानजिकका बासिन्दा, पहाडी क्षेत्रमा यात्रा गर्ने व्यक्ति, पदयात्री र पर्वतारोहीलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।