आवाज फाउन्डेसनको ध्यानाकर्षणपछि आज दिउँसो ३ बजे विराटनगर ICP सडकखण्डमा अनुगमन हुँदै ।
कोशी आवाज २०८३ कार्तिक १२ गते बिहीबार ।
विराटनगर । विराटनगरस्थित एकीकृत जाँच चौकी (ICP) जाने सडकमा सडकबत्ती जडान, ट्राफिक प्रहरीको निगरानी बढाउन तथा सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक व्यवस्था गर्न माग गरिएको छ। आवाज फाउन्डेसनका संस्थापक अध्यक्ष मोहम्मद जमशेद आलमको नेतृत्वमा रहेको टोलीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएपछि आज दिउँसो ३ बजे उक्त सडकखण्डमा अनुगमन गर्ने तयारी गरिएको छ।
आवाज फाउन्डेसनले कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै ICP जाने सडकमा देखिएका समस्या समाधान गर्न माग गरेको हो।
फाउन्डेसनका अनुसार उक्त सडकखण्डमा रातिको समयमा पर्याप्त सडकबत्ती नहुँदा चालक तथा पैदलयात्रीलाई आवागमनमा समस्या हुने गरेको छ। साथै, भारी सवारीसाधन, कन्टेनर तथा अन्तर्राष्ट्रिय आवागमनको चाप उच्च रहे पनि ट्राफिक व्यवस्थापन र निगरानी प्रभावकारी हुन नसकेको पत्रमा उल्लेख छ।
सडकमा तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, जथाभावी ओभरटेक गर्ने तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको फाउन्डेसनको भनाइ छ। त्यसैगरी, गति नियन्त्रणका उपकरण, जेब्रा क्रसिङ, दिशासूचक तथा चेतावनीमूलक ट्राफिक संकेतको अभाव रहेको विषय पनि ध्यानाकर्षण पत्रमा उठाइएको छ।
पत्रमा उल्लेखित तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा उक्त क्षेत्रमा भएका १५ वटा सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते भएका थिए। चालु आर्थिक वर्ष २०८३/८४ मा भएका ३ वटा दुर्घटनामा ८ जना गम्भीर घाइते भएको विवरणसमेत प्रस्तुत गरिएको छ।
सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सडकबत्ती जडान, ट्राफिक प्रहरीको नियमित परिचालन, गति नियन्त्रण तथा आवश्यक ट्राफिक संकेतको व्यवस्था गर्न फाउन्डेसनले माग गरेको छ।
आवाज फाउन्डेसनको ध्यानाकर्षणपछि सम्बन्धित मन्त्रालय तथा ट्राफिक व्यवस्थापनमा संलग्न प्रहरी टोलीले आज दिउँसो ३ बजे सडकखण्डको अनुगमन गर्ने जनाइएको छ। अनुगमनपछि सडक सुरक्षासम्बन्धी समस्या पहिचान गरी आवश्यक सुधारका लागि पहल हुने अपेक्षा गरिएको छ।