मन्त्रिपरिषद् बैठकका तीन महत्वपूर्ण निर्णय सार्वजनिक ।
कोशी आवाज २०८३ बैशाख १० गते ।
बिराटनगर । मन्त्रिपरिषद्को पछिल्लो बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित तीन महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्र)’ आयोजनाका लागि एसियाली विकास बैंक (ADB) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी सम्झौता र आवश्यक कागजातहरूलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
त्यसैगरी, २०७५ भदौ २१ को मन्त्रिपरिषद् बैठकले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयलाई दिने निर्णय गरेकोमा उक्त निर्णय सच्याउँदै सो जग्गा पुनः प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरिएको छ।
यसैबीच, सरकारी निकायहरूमा प्रयोगमा रहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी प्रणालीहरूको अध्ययन तथा सुधारका लागि सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
सरकारका यी निर्णयहरू पूर्वाधार विकास, संस्थागत व्यवस्थापन तथा सूचना प्रविधि सुधारतर्फ केन्द्रित रहेको देखिएको छ।