स्विस संघीय परिषद्द्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोसँग सम्बन्धित सम्पत्ति रोक्का

स्विस संघीय परिषद्द्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोसँग सम्बन्धित सम्पत्ति रोक्का

कोशी आवाज २०८२ पुष २२ गते मंगलवार ।

मोरङ । स्विस संघीय परिषद्ले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग सम्बन्धित स्विट्जरल्यान्डभित्र रहेका सम्पूर्ण सम्पत्ति रोक्का गर्ने निर्णय गरेको छ। सोमबार जारी गरिएको आधिकारिक विज्ञप्तिमा संघीय कानुनअनुसार मदुरो र उनीसँग आबद्ध अन्य व्यक्तिहरूको नाममा रहेको सम्पत्ति तत्काल प्रभावबाट रोक्का गरिएको जनाइएको छ।

स्विस संघीय परिषद्का अनुसार उक्त निर्णय तुरुन्त लागू भइसकेको छ र थप सूचना नआएसम्म चार वर्षसम्म कायम रहनेछ। भेनेजुएलामा देखिएको गम्भीर राजनीतिक तथा कानुनी परिस्थितिलाई ध्यानमा राख्दै शंकास्पद रूपमा आर्जित सम्पत्ति सुरक्षित राख्न तथा दुरुपयोग हुन नदिनका लागि यो कदम चालिएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, गत शनिबार अमेरिकी सेनाले भेनेजुएलामा सैन्य कारबाही गर्दै राष्ट्रपति मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर देशबाहिर लगेको खबर सार्वजनिक भएको छ। उनीहरूलाई त्यसपछि अमेरिकाको न्यूयोर्कमा हिरासतमा राखिएको जनाइएको छ।

अमेरिकी कदमलाई जबरजस्ती अपहरणको रूपमा व्याख्या गर्दै विश्वका विभिन्न मुलुक र अन्तर्राष्ट्रिय समुदायबाट तीव्र प्रतिक्रिया व्यक्त भइरहेको छ। मदुरो दम्पतीलाई अमेरिकी नियन्त्रणमा लिइएको घटनाले अन्तर्राष्ट्रिय स्तरमा ठूलो तरंग सिर्जना गरेको छ।

धेरै देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूले यस घटनालाई अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र कूटनीतिक मर्यादामाथिको गम्भीर प्रश्नका रूपमा लिएका छन्। यस्तै बदलिँदो अन्तर्राष्ट्रिय परिदृश्यको सन्दर्भमा स्विस संघीय परिषद्को सम्पत्ति रोक्का गर्ने निर्णयलाई पनि एक महत्त्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ।