सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुल हुने ।
कोशी आवाज २०८३ भदौ ३० गते मंगलवार ।
बिराटनगर । सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको समयभित्र रमाना नदिई पुरानै कार्यालयमा राखे अब अतिरिक्त अवधिको तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाटै असुलउपर हुने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई कानुनले तोकेको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।
मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रमा सरुवापछि पनि पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति तत्काल रोक्न भनिएको छ। पछिल्लो समय विभिन्न बहानामा सरुवा भएका कर्मचारीलाई पुरानै कार्यालयमा काम लगाउने, बहाली म्याद सकिँदासमेत रमाना नदिने र पुरानै कार्यालयबाट तलब खुवाउने अभ्यास देखिएको मन्त्रालयको भनाइ छ।
परिपत्रअनुसार रमाना दिनुपर्ने म्याद नाघेपछिको अतिरिक्त अवधिको तलबभत्ता पुरानै कार्यालयबाट भुक्तानी गरिएको पाइएमा उक्त रकम कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल गरिनेछ।
त्यस्तै, सरुवा निर्णय कार्यान्वयन नभएको अवस्थामा लेखापरीक्षणका क्रममा त्यस्तो भुक्तानीलाई बेरुजु कायम गर्न महालेखा परीक्षकको कार्यालयलाई आग्रह गरिएको छ। निर्णय कार्यान्वयनमा सहयोग गर्न मातहतका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिन महालेखा नियन्त्रकको कार्यालयलाई समेत अनुरोध गरिएको छ।
सरुवा निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति अन्त्य गर्दै प्रशासनिक अनुशासन र सेवा प्रवाह प्रभावकारी बनाउन यस्तो कडाइ गरिएको मन्त्रालयले जनाएको छ। अब सरुवा भएका कर्मचारीलाई पुरानै कार्यालयमा रोक्ने वा पुरानै कार्यालयबाट तलबभत्ता खुवाउने प्रवृत्तिमा कमी आउने अपेक्षा गरिएको छ।