मोरङ–५ मा फूलकुमार लालवानीको घरदैलो अभियान तीव्र, जनसमर्थन बढ्दो

मोरङ–५ मा फूलकुमार लालवानीको घरदैलो अभियान तीव्र, जनसमर्थन बढ्दो

कोशी आवाज २०८२ माघ २३ गते शुक्रबार ।

बिराटनगर । मोरङ क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार फूलकुमार लालवानीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उहाँ हाल घरदैलो अभियानमा सक्रिय रहनुभएको छ।

घरदैलो अभियानका क्रममा उम्मेदवार लालवानीले विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा भलाकुसारी गरिरहनुभएको छ। यस क्रममा उहाँले स्थानीय समस्या, आवश्यकता र जनआकांक्षाबारे जानकारी लिँदै मतदाताका गुनासा र सुझावहरू सुन्दै आउनुभएको छ।

लालवानीले आफू निर्वाचित भएपछिका प्राथमिकता, विकास योजना तथा मोरङ–५ को समग्र विकास र समृद्धिका विषयमा मतदातालाई जानकारी गराउँदै जनताको विश्वास जित्ने प्रयास गरिरहनुभएको छ। जनताको सेवा र क्षेत्रको दिगो विकासका लागि उम्मेदवारी दिएको उल्लेख गर्दै उहाँले घरदैलो अभियानका क्रममा उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको बताउनुभयो।

उहाँका अनुसार स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन्। मतदाताहरूले उम्मेदवार लालवानीप्रति विश्वास व्यक्त गर्दै समर्थन गर्ने प्रतिबद्धता जनाइरहेका छन्।

प्राप्त जनविश्वासलाई कहिल्यै खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार लालवानीले जनताको अपेक्षाअनुसार काम गरेर देखाउने आश्वासन दिनुभयो।

मोरङ–५ मा फूलकुमार लालवानीको सक्रियता र बढ्दो जनसमर्थनसँगै चुनावी माहोल थप उत्साहजनक बन्दै गएको छ।