इलाका प्रहरी कार्यालय रङ्गेलीमा पहिलो पटक मधेसी मूलका प्रहरी निरीक्षकको नेतृत्व ।
कोशी आवाज २०८३ जेठ २८ गते बिहिवार ।
बिराटनगर । मधेसी समुदायको बाहुल्यता रहेको क्षेत्रमा अवस्थित इलाका प्रहरी कार्यालय रङ्गेलीमा पहिलो पटक मधेसी मूलका प्रहरी निरीक्षकले नेतृत्व सम्हाल्ने भएका छन्। हाल कार्यालय प्रमुखका रूपमा कार्यरत प्रहरी निरीक्षक नरेन्द्र बोगटीको कास्कीस्थित पोखरामा सरुवा भएपछि उहाँको स्थानमा प्रहरी निरीक्षक अशोक कुमार झा एक सातापछि रङ्गेली आउने भएका छन्।

स्थानीय स्रोतका अनुसार २०४८ सालदेखि हालसम्म इलाका प्रहरी कार्यालय रङ्गेलीमा प्रमुखको जिम्मेवारी सम्हाल्ने अधिकांश प्रहरी निरीक्षक पहाडी मुलका रहँदै आएका थिए। यसपटक भने मधेसी मूलका प्रहरी निरीक्षक अशोक झा कार्यालय प्रमुखका रूपमा आउन लागेकाले यसलाई रङ्गेलीको प्रहरी नेतृत्वमा नयाँ अध्यायका रूपमा हेरिएको छ।

प्रहरी संगठनभित्र सरुवा नियमित प्रशासनिक प्रक्रिया भए पनि मोरङको रङ्गेलीमा पहिलो पटक मधेसी मूलका प्रहरी प्रमुखले नेतृत्व सम्हाल्न लागेकाले स्थानीय स्तरमा यसले विशेष चासो र चर्चा पाएको छ। स्थानीयवासीहरूले नयाँ प्रमुखबाट शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवामा थप प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरेका छन्।
यसअघि कार्यालय प्रमुखका रूपमा कार्यरत प्रहरी निरीक्षक नरेन्द्र बोगटीले आफ्नो कार्यकालमा शान्ति सुरक्षा सुदृढीकरण, ट्राफिक सचेतना, लागुऔषध नियन्त्रण तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी महत्वपूर्ण योगदान पुर्याएका थिए। उहाँको सरुवासँगै अब प्रहरी निरीक्षक अशोक कुमार झाले रङ्गेली क्षेत्रको सुरक्षा नेतृत्व सम्हाल्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।