त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनामध्ये एकको अवस्था जटिल

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनामध्ये एकको अवस्था जटिल

कोशी आवाज २०८३ भदौ १९ गते शुक्रबार ।

बिराटनगर । सुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने अर्का व्यक्तिको अवस्था जटिल रहेको जनाइएको छ।

जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कबीर महर्जन हुन्। उहाँलाई उद्धारलगत्तै नेपाली सेनाको छाउनीमा ल्याई वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ।

यस्तै, सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। अवस्था स्थिर देखिए पनि थप स्वास्थ्य परीक्षणका लागि उहाँलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य विज्ञ सम्मिलित संयुक्त खोज तथा उद्धार टोलीले आज बिहान उनीहरूलाई सुरुङभित्रबाट जीवितै उद्धार गरेको हो।

आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंकापछि बाढी आएको समयदेखि नै लगातार खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो।