प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार भएको बताएकी छन्।
कोशी आवाज २०८२ मङ्सिर २४ गते बुधबार ।
बिराटनगर । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्,
‘भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइन; यो विपन्न, अशक्त तथा अवसरबाट वञ्चित नागरिकका मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो। जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार अधिकारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छन्।’
उनले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मका कठोर कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै पारदर्शिता र जवाफदेहिताबिना मानव अधिकार सुरक्षित रहन नसक्ने बताइन्।
फरक प्रसङ्गमा प्रधानमन्त्री कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको उल्लेख गरिन्।
‘नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व हो। २०८२ फागुन २१ को निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागेको छ,’ प्रधानमन्त्रीको भनाइ छ।
‘समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न नेपाल सरकार अपिल गर्दछ,’ उनले थपिन्।
नेपालको शान्ति प्रक्रियाले विश्वलाई प्रेरणा दिएको उल्लेख गर्दै उनले सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा हुन ढिलाइ भइरहेको तथ्य सरकारलाई थाहा रहेको बताइन्।
‘पीडितलाई न्यायको अनुभूति नदिलाएसम्म सङ्क्रमणकालीन न्याय पूर्ण मानिँदैन। हालै संशोधित कानुन र सहमतिहरूका आधारमा सम्बन्धित संयन्त्रहरूले यस प्रक्रिया पीडित–मैत्री र विश्वसनीय निष्कर्षमा पुर्याउने विश्वास सरकारलाई छ,’ उनले भनिन्।
राष्ट्रिय मानव अधिकार आयोग लोकतन्त्रको पहरेदार संस्था भएकाले यसको स्वायत्तता, स्वतन्त्रता र प्रभावकारितालाई सरकारले उच्च प्राथमिकताका साथ संरक्षण गर्दै आएको प्रधानमन्त्रीले स्पष्ट पारिन्।
‘आयोगका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ। आयोगलाई ‘क’ श्रेणीमा कायम राख्न आवश्यक संस्थागत तथा भौतिक पूर्वाधार, जनशक्ति र बजेट व्यवस्थापनलाई अझ सुदृढ बनाइनेछ,’ उनको भनाइ छ।
मानव अधिकारको संरक्षणमा जलवायु परिवर्तन आजको अर्को चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै उनले भनिन्,
‘नेपाल न्यूनतम कार्बन उत्सर्जन गर्ने राष्ट्र हुँदाहुँदै पनि जलवायु परिवर्तनका विनाशकारी प्रभावहरू सबैभन्दा बढी हामीले नै भोग्नुपरेको छ। हिमाल पग्लिनु, अनिश्चित मौसम चक्र, बाढी–पहिरो, तापक्रम वृद्धि जस्ता जलवायुजन्य असरले खाद्य सुरक्षा, स्वास्थ्य, बसोबास, शिक्षा लगायत हरेक आयामलाई प्रत्यक्ष प्रभावित पारिरहेका छन्।’