नेता चन्द्र भण्डारीद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आगामी १५औं महाधिवेशनमा सभापति पदका लागि आफ्नो उम्मेदवारी सार्वजनिक रूपमा घोषणा गरेका छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत् भिडियो तथा लेखमार्फत् सभापतिमा लड्ने आकांक्षा प्रकट गरेका हुन्।
भण्डारीले लेखेका छन्,
‘नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ। दृष्टिकोण पनि त्यसअनुसार निर्धारित छ। तर देश, जनता र प्रजातन्त्रको हित तथा संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।’
साथै, उनले साथीहरूको सुझाव, समयको माग र राजनीतिक परिवेशलाई सम्मान गर्दै उचित ढङ्गले निर्णय र कदम चाल्ने बताएका छन्।
नेता भण्डारीको यस घोषणासँगै कांग्रेस महाधिवेशनलाई केन्द्र बनाएर पार्टीभित्र नेतृत्व प्रतिस्पर्धा औपचारिक रूपमा तातिएको देखिएको छ।