एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश ।
कोशी आवाज २०८२ माघ ७ गते बुधबार ।
झापा । राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडाले आफ्नो पद तथा पार्टी सदस्यता परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। यससँगै राष्ट्रिय युवा सङ्घ दमकका उपाध्यक्ष विजय तामाङ पनि रास्वपामा प्रवेश गरेका छन्।
खतिवडाले माघ ७ गतेदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा सङ्घसँगको सबै जिम्मेवारी त्यागेको जनाउँदै झापा निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ र समर्थन जनाउने निर्णय गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र र वैकल्पिक राजनीतिक धारको पक्षमा बिताउने उल्लेख गरेका छन्। उनले झापा–५ मा परिवर्तनकारी राजनीतिलाई स्थापित गर्न बालेन शाहको अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
खतिवडाले आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने नेकपा (एमाले), राष्ट्रिय युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै उनले अग्रगामी परिवर्तन, सामाजिक न्याय र राष्ट्रहितका पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता दोहोर्याएका छन्।
उनको यो निर्णयलाई झापाको स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। आगामी निर्वाचनमा झापा–५ मा नयाँ राजनीतिक समीकरण र बहसलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
खतिवडाले मतदातालाई परिवर्तनको पक्षमा उभिन आह्वान समेत गरेका छन्।