मोरङका तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेदवार ।

मोरङका तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेदवार ।

कोशी आवाज २०८२ माघ ७ गते बुधबार ।

मोरङ । मोरङका तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय ऊर्जाशील पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भएको छ। मंगलबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउँदै पार्टीले मोरङ–२, मोरङ–३ र मोरङ–५ मा उम्मेदवार अघि सारेको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर–२ बाट मनोजकुमार राजवंशी, क्षेत्र नम्बर–३ बाट भुवनकुमार वाग्ले र क्षेत्र नम्बर–५ बाट योगेन्द्र मण्डलले उम्मेदवारी दर्ता गराएका छन्।

यसअघि सम्पन्न निर्वाचनमा मोरङ–२ मा ऋषिकेश पोखरेल, मोरङ–३ मा सुनिल शर्मा तथा मोरङ–५ मा स्वतन्त्र उम्मेदवारका रूपमा अहिलेका उम्मेदवार योगेन्द्र मण्डलले विजय हासिल गरेका थिए।

केही समयअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय ऊर्जाशील पार्टीले जनजीविकाका एजेण्डालाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाएको छ। मोरङ–३ का उम्मेदवार भुवनकुमार वाग्लेले पार्टी दर्ता भएलगत्तै चुनावी तयारी तीव्र बनाइएको बताउँदै मनोनयन दर्तासँगै उम्मेदवारहरू प्रचार–प्रसारमा सक्रिय भइसकेको जानकारी दिए।

उनका अनुसार पार्टीले समानुपातिकतर्फ पनि बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेको छ। नयाँ दल भए पनि स्पष्ट एजेण्डासहित मैदानमा उत्रिएको राष्ट्रिय ऊर्जाशील पार्टीको उपस्थितिले मोरङका निर्वाचन क्षेत्रमा राजनीतिक प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।