निर्वाचन आयोगद्वारा जगदीश खरेलसँग स्पष्टीकरण माग ।
कोशी आवाज २०८२ माघ ८ गते बिहीबार ।
मोरङ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जगदीश खरेलसँग स्पष्टीकरण माग गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को पालनासम्बन्धी विषयमा तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको हो।
आयोगका अनुसार मनोनयन दर्ताका क्रममा दलको झण्डा प्रयोग गरिएको तथा आचारसंहिताले तोकेको सीमाविपरीत २५ जनाभन्दा बढी व्यक्तिको सहभागितामा जुलुससहित उम्मेदवारी दर्ता गरिएको भन्ने विषयमा उजुरी प्राप्त भएको छ। सोही उजुरीसँगै भिडियो सामाग्रीसमेत संलग्न रहेपछि आयोगले प्रारम्भिक अध्ययन गरी स्पष्टीकरण सोधेको जनाएको छ।
निर्वाचन आयोगले पठाएको पत्रमा उल्लिखित आरोपहरू सत्य प्रमाणित भएमा किन निर्वाचन आचारसंहिता, २०८२ तथा प्रचलित निर्वाचन कानूनबमोजिम कारबाही अघि नबढाइने भन्ने प्रश्नसमेत उठाइएको छ।
आयोगले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन सबै उम्मेदवार तथा राजनीतिक दलहरूलाई आचारसंहिता कडाइका साथ पालना गर्न पुनः आग्रह गरेको छ।