कांग्रेसको १५औँ महाधिवेशन वर्तमान र भविष्यबारे गम्भीर छलफल गर्ने थलो : उपसभापति पुष्पा भुसाल ।
कोशी आवाज २०८३ असोज १८ गते आइतबार ।
काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान अवस्था र भविष्यबारे गम्भीर छलफल तथा संवाद गर्ने थलो भएको बताएकी छन्।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले लामो समयदेखि लोकतन्त्रका लागि संघर्ष गर्दै आएको कांग्रेसले आफ्नो वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी बाटो तय गर्नुपर्ने बताइन्।
“२००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोको रूपमा यो महाधिवेशन हुन गइरहेको छ,” उनले भनिन्।
भुसालले महाधिवेशन केवल पद व्यवस्थापन र नेतृत्व चयनका लागि मात्रै नभएको स्पष्ट पारिन्। उनका अनुसार महाधिवेशन कांग्रेसका नेता–कार्यकर्तासँगै लोकतन्त्र र कांग्रेसमा विश्वास गर्ने सबैले पार्टीको वर्तमान अवस्थाबारे आत्मसमीक्षा गर्ने अवसर बन्नुपर्छ।
“यो महाधिवेशन पद व्यवस्थापन गर्नका लागि मात्र भइराखेको छैन। कांग्रेसका नेता र कार्यकर्ता मात्रै होइन, लोकतन्त्र र कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलो बन्नुपर्छ,” भुसालले भनिन्।
उनले महाधिवेशनबाट कांग्रेसको आगामी दिशा, नीति र भूमिकाबारे गम्भीर बहस हुनुपर्नेमा जोड दिइन्।