राजनीतिक दलसँग संवाद नगर्ने सरकार अधिनायकवादतर्फ उन्मुख : शंकर पोखरेल ।
कोशी आवाज २०८३ असोज १८ गते आइतवार ।
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले राजनीतिक दल, संसद् र नागरिकसँग संवाद नगरेर अधिनायकवादतर्फ अघि बढ्न खोजेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले सरकार राजनीतिक दलहरूसँग संवाद गर्न तयार नदेखिएको भन्दै आगामी दिनमा उत्पन्न हुन सक्ने राजनीतिक संकटप्रति चिन्ता व्यक्त गरे।
“रवि लामिछानेले राजनीतिक दलहरूलाई जोड्ने प्रयास गर्नुहुन्छ तर सरकारले राजनीतिक दलहरूसँग संवाद गर्दैन। सरकार संसद् र नागरिकसँग संवाद गर्दैन,” पोखरेलले भने, “त्यो अवस्थामा भविष्यका संकटहरूलाई हामीले कसरी सामना गर्ने भन्ने विषयमा अत्यन्त चिन्ता छ।”
उनले जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्रीले आफूले चुनेको संसदीय दल र जनतासँग समेत संवाद नगरेको भन्दै सरकार लोकतन्त्रतर्फ अघि बढिरहेको हो कि अधिनायकवादतर्फ भन्ने प्रश्न उठाए।
“चिन्ता लोकतन्त्रको भविष्यमाथि पनि छ। जनताले विश्वास गरेको प्रधानमन्त्रीले आफैंले चुनेको संसदीय दल र जनतालाई चिन्नु हुँदैन। हामी लोकतन्त्रतर्फ हिँड्दैछौँ कि अधिनायकवादतर्फ?” उनले प्रश्न गरे।
पोखरेलले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए। विगतमा वामपन्थी तथा लोकतन्त्रवादी शक्तिहरूले राणा शासन र राजतन्त्रविरुद्ध संघर्ष गरेझैँ अहिले पनि राष्ट्रिय सवालमा सामूहिक एकताको आवश्यकता रहेको उनको भनाइ थियो।
उनले जनताले एउटै दललाई झन्डै दुईतिहाइको जनादेश दिएर राजनीतिक स्थायित्वका लागि म्यान्डेट दिएको स्मरण गर्दै अहिले मुलुकको भविष्य र भूराजनीतिक अवस्थालाई लिएर चिन्ता बढेको बताए।
“राष्ट्रिय सवालमा हामी सबै दल एक ठाउँमा आउनुपर्ने भएको छ। जनता र छिमेकीलाई समेत आश्वस्त पार्नुपर्ने आवश्यकता छ,” पोखरेलले भने।
सुशासन र विकासका लागि सरकारले जनादेश पाए पनि त्यसअनुसार काम गर्न नसकेको पोखरेलले आरोप लगाए। उनले सरकारको सेवा प्रवाह लथालिङ्ग बन्दै गएको तथा विदेश जाने नेपालीको संख्या घट्न नसकेको दाबीसमेत गरे।