कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्छौँ : महामन्त्री घिमिरे ।

कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्छौँ : महामन्त्री घिमिरे ।

कोशी आवाज २०८३ असोज १८ गते आइतबार ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताएका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले राष्ट्र र जनतालाई राजनीतिका केन्द्रमा राखेर कांग्रेस नयाँ चरणमा प्रवेश गर्ने बताए।

“कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँ। नेपाली राजनीतिलाई नयाँ चरणमा लैजान्छौँ,” उनले भने।

घिमिरेले मुलुकलाई स्पष्ट दिशा दिन महाधिवेशनबाट नयाँ नीति तथा कार्यक्रम ल्याइने बताए। बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने उनको भनाइ थियो।

उनले कांग्रेसले बीपी कोइरालाको सपना साकार पार्ने लक्ष्यसहित देश र जनतालाई समुन्नत, खुसी र समृद्ध बनाउने तथा राष्ट्रको प्रतिष्ठा बढाउने दिशामा काम गर्नुपर्ने बताए।

“बीपी कोइरालाको सपना सार्थक बनाउनु छ। देश र जनतालाई समुन्नत, खुसी र समृद्ध बनाउन, राष्ट्रको प्रतिष्ठा बढाउन कांग्रेस चाहन्छ,” घिमिरेले भने।

महामन्त्री घिमिरेको भनाइ कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व परिवर्तन, पुस्तान्तरण तथा पार्टीको आगामी नीति र कार्यक्रमलाई मुख्य विषयका रूपमा अघि सारिएको संकेतका रूपमा आएको छ।