कानेपोखरीमा एउटै विज्ञापन, दुईपटक परीक्षा : स्थानीय सरकारमाथि गम्भीर प्रश्न ।

कानेपोखरीमा एउटै विज्ञापन, दुईपटक परीक्षा : स्थानीय सरकारमाथि गम्भीर प्रश्न ।

कोशी आवाज २०८३ असोज ९ गते शुक्रबार।

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीस्थित श्री शिक्षा माध्यमिक विद्यालयमा राहत कोटाको एक शिक्षक पदका लागि सञ्चालन गरिएको परीक्षालाई लिएर विवाद उत्पन्न भएको छ।

विद्यालयले राहत कोटाको एक सिटका लागि विज्ञापन आह्वान गरी उम्मेदवारहरूलाई परीक्षामा सहभागी गराएको थियो। तर परीक्षा तथा छनोट प्रक्रियाको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेपछि विद्यालयले पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको आधिकारिक पत्रबाट देखिएको छ।

विद्यालयको पत्रमा परीक्षा प्रक्रियाको विश्वसनीयता तथा निष्पक्षतासम्बन्धी प्रश्न उठेको उल्लेख गर्दै पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ।

यस घटनापछि स्थानीय सरकार र सम्बन्धित जिम्मेवार निकायमाथि प्रश्न उठेको छ—एउटै विज्ञापनका लागि दुईपटक परीक्षा गर्नुपर्ने अवस्था किन आयो? पहिलो परीक्षा प्रक्रियामा के समस्या देखियो? पुनः परीक्षा लिनुपर्ने निर्णयको आधार के हो?

त्यसैगरी, परीक्षा तथा शिक्षक छनोट प्रक्रियामा कुनै राजनीतिक प्रभाव वा पदाधिकारीको सिफारिस परेको थियो कि थिएन भन्ने विषयमा पनि सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्ने देखिन्छ। योग्य उम्मेदवारमाथि अन्याय भएको हो वा होइन भन्ने विषयमा समेत निष्पक्ष छानबिन र तथ्य सार्वजनिक हुनुपर्ने माग उठ्न थालेको छ।

शिक्षक नियुक्तिजस्तो संवेदनशील विषयमा पारदर्शिता, निष्पक्षता र प्रचलित कानुनी प्रक्रियाको पालना हुनुपर्ने भन्दै स्थानीयवासीले सम्बन्धित निकायसँग जवाफदेहिताको माग गरेका छन्।

अब मुख्य प्रश्न यही हो—
एउटै विज्ञापन, दुईपटक परीक्षा—आखिर गल्ती कहाँ भयो? त्यसको जिम्मेवारी कसले लिने ?