धनपालथान गाउँपालिका–६ महतो टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल ठक्कर दुर्घटनामा एक व्यक्ति घाइते

धनपालथान गाउँपालिका–६ महतो टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल ठक्कर दुर्घटनामा एक व्यक्ति घाइते भएका छन् ।

कोशी आवाज २०८२ भदौ ९ गते सोमबार ।

मोरङ रङ्गेली । दादरबेरियाबाट मण्डल टोलतर्फ जाँदै गरेको प्र १–०४–००१ प ७७८१ नम्बरको मोटरसाइकलले बाटो छेउमा बसिरहेका सोही गाउँपालिका–६ निवासी ४५ वर्षीय रामफल महतोलाई ठक्कर दिँदा घाइते भएका हुन् । दुर्घटनामा महतोको बायाँ खुट्टा र छातिमा चोट लागेको छ ।

उनीलाई उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल लगिएको प्रहरीले जनाएको छ । हाल उनको अवस्था मध्यम रहेको बताइएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकी कर्सीयाको नियन्त्रणमा भए पनि चालक फरार रहेको र उनको खोजीकार्य जारी रहेको  प्रहरीले जानकारी दिएको छ ।