एमालेभित्र युवा असन्तुष्टि चुलिँदै, विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान सुरु

एमालेभित्र युवा असन्तुष्टि चुलिँदै, विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान सुरु

कोशी आवाज २०८२ चैत २१ गते शनिबार

बिराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवा पंक्ति यतिबेला मौन बस्न तयार देखिएको छैन। विशेष महाधिवेशनको माग गर्दै सुरु गरिएको हस्ताक्षर संकलन अभियानलाई केवल औपचारिक प्रक्रिया नभई पार्टीभित्र बढ्दो आन्तरिक असन्तुष्टि र विद्रोहको संकेतका रूपमा व्याख्या गरिएको छ।

युवा नेताहरूका अनुसार, कुनै समय प्रगतिशील र क्रान्तिकारी पहिचान बनाएको नेतृत्व अहिले रूढिवाद र यथास्थितिवादमा अल्झिएको छ। समय र पुस्ता परिवर्तन हुँदै जाँदा पनि नेतृत्वको सोचमा अपेक्षित सुधार नआउँदा पार्टी र आम जनताबीच दूरी बढ्दै गएको उनीहरूको भनाइ छ।

ऐतिहासिक विरासतसँग वर्तमानको टकराव

जनतामाझ लोकप्रिय युवा नेता सुहाङ नेम्वाङ लाई संसदीय भूमिकामा उचित स्थान नदिइएको भन्दै असन्तुष्टि अझ चुलिएको छ। युवाहरूले पार्टीभित्र अवसर वितरणमा असमानता रहेको आरोप लगाएका छन्।

एमालेकै इतिहासतर्फ फर्किँदा मदन भण्डारी ३९ वर्षको उमेरमा महासचिव बनेका थिए भने केपी शर्मा ओली ले ४१ वर्षमै उपप्रधान तथा गृहमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। विगतमा युवालाई प्राथमिकता दिने परम्परा अहिले किन कमजोर बन्दै गएको भन्ने प्रश्न उठ्न थालेको छ।

विश्लेषकहरूका अनुसार, यो विवाद केवल पदको सीमित मुद्दा नभई वर्तमान नेतृत्व र नयाँ पुस्ताबीचको वैचारिक टकराव हो, जसले पार्टीको भविष्यमा दीर्घकालीन प्रभाव पार्न सक्छ।

रूपान्तरणको माग

अनेरास्ववियु का उपमहासचिव कमल जोशीका अनुसार, एमालेलाई समयसापेक्ष बनाउन अब युवा नेतृत्व अपरिहार्य भइसकेको छ। “इतिहासका उपलब्धिले मात्र भविष्यको राजनीति सुरक्षित हुँदैन,” उनले बताएका छन्।

उनले थपे, पार्टीले युवाहरूको आवाज बेवास्ता गरे उनीहरू आफैं परिवर्तनको नयाँ अध्याय सुरु गर्न बाध्य हुनेछन्। पछिल्ला घटनाक्रमले एमालेभित्र गहिरिँदो अन्तरविरोध सतहमा ल्याएको विश्लेषण गरिएको छ, जसले आगामी दिनमा संगठनात्मक संरचना र नेतृत्वमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने संकेत देखिएको छ।