रास्वपाको केन्द्रीय सदस्यमा भरत यादवको उम्मेदवारी, विजयी गराउन अपिल
कोशी आवाज २०८३ असार ४ गते बिहीबार ।
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उम्मेदवार भरत यादवलाई अत्यधिक मतका साथ विजयी गराउन प्रतिनिधि तथा मतदातासँग आग्रह गरिएको छ।
यादवलाई कोशी प्रदेशसहित देशभरका कार्यकर्ता र नागरिकको आवाज केन्द्रीय तहसम्म पुर्याउन सक्ने सक्षम, ऊर्जाशील तथा जनमुखी नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। समर्थकहरूले समाजसेवा, जनसरोकारका विषयमा सक्रियता र नेतृत्व क्षमताका आधारमा उहाँलाई केन्द्रीय सदस्यका लागि उपयुक्त उम्मेदवार भएको बताएका छन्।
यादव सामाजिक अभियन्ताका रूपमा रगत खोजी तथा व्यवस्थापन, मानव उद्धार, हरियाली अभियान, मेची–महाकाली सरसफाइ अभियान, जनावर संरक्षण तथा लागूऔषध नियन्त्रणलगायतका क्षेत्रमा सक्रिय रहँदै आएका छन्। कोभिड–१९ महामारीका बेला अक्सिजन व्यवस्थापन, बिरामीको उपचारमा सहयोग तथा विपन्न र असहाय नागरिकको सेवामा निरन्तर खटिएको पनि उल्लेख गरिएको छ।
यसैगरी, घरविहीनका लागि आवास व्यवस्थापन, सडक आश्रित नागरिकको संरक्षण तथा अभिभावकविहीन व्यक्तिहरूको सहयोगमा पनि उहाँको उल्लेखनीय योगदान रहेको समर्थकहरूको भनाइ छ।
हाल यादव रास्वपाको मानव विकास प्रवर्द्धन विभाग प्रमुख (कोशी प्रदेश) को जिम्मेवारीमा छन्। उहाँको विजयले पार्टीभित्र सुशासन, पारदर्शिता र परिवर्तनको अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।
रास्वपाका प्रतिनिधि तथा मतदातालाई केन्द्रीय सदस्य पदका उम्मेदवार भरत यादवलाई मतदान गरी विजयी गराउन समर्थकहरूले अपिल गरेका छन्।