८९ अंकसहित रंगेली नगर अस्पताल देशकै सर्वोत्कृष्ट तथा नमुना अस्पताल घोषित।
कोशी आवाज २०८२ माघ ३ गते शनिबार ।
मोरङ । न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard – MSS) कार्यान्वयनमा उत्कृष्ट प्रदर्शन गर्दै रंगेली नगर अस्पताल देशभरमै सर्वोत्कृष्ट तथा नमुना अस्पताल घोषित भएको छ। अस्पतालले ८९ अंक प्राप्त गर्दै अन्य अस्पतालहरूलाई पछि पार्न सफल भएको हो।
न्यूनतम सेवा मापदण्ड अन्तर्गत अस्पतालमा आवश्यक सेवा मापदण्डको विकास, मापदण्ड पूरा गर्न आवश्यक बजेट तथा योजनाको निर्माण, अवस्था मूल्याङ्कन तथा ग्याप विश्लेषण (Gap Analysis) का आधारमा सुधारात्मक कार्यहरू प्रभावकारी रूपमा अघि बढाइएको थियो।
मूल्याङ्कन क्रममा शासन तथा व्यवस्थापन (२० प्रतिशत), क्लिनिकल सेवा (६० प्रतिशत) र सहायक सेवा (२० प्रतिशत) गरी तीन मुख्य क्षेत्रलाई आधार बनाइएको थियो। यी सबै सूचकमा उत्कृष्ट कार्यसम्पादन गर्दै रंगेली नगर अस्पतालले उच्च अंक हासिल गरेको मूल्याङ्कन समितिले जनाएको छ।
अस्पतालको यस सफलताले स्थानीय तहबाट सञ्चालन हुने स्वास्थ्य संस्थाहरूमा सेवा सुधार, सुशासन र गुणस्तरीय उपचार सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको सरोकारवालाहरूको भनाइ छ।