धनपालथानमा पुरानो राजनीतिक प्रवृत्तिविरुद्ध रास्वपाको कडा सन्देश
कोशी आवाज २०८२ माघ ३ गते शनिबार ।
मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनपालथान गाउँपालिका समितिद्वारा आयोजित वडा अधिवेशन शनिबार धनपालथान–स्थित दादरबैरिया, रामजानकी मन्दिर परिसरमा सम्पन्न भएको छ।
मोरङ क्षेत्र नम्बर ५ अन्तर्गत सम्पन्न अधिवेशनले धनपालथानमा लामो समयदेखि जरा गाडेर बसेको असफल, स्वार्थी तथा जनविरोधी राजनीतिक प्रवृत्तिविरुद्ध स्पष्ट सन्देश दिएको आयोजकले जनाएका छन्।
“अब कि बार, बालेन सरकार” भन्ने नारासहित सम्पन्न अधिवेशनमा सहभागी वक्ताहरूले जनताको नाममा सत्ता र स्रोतको दोहन गर्दै आएका पुराना दलहरूलाई चुनौती दिँदै अब धनपालथानका जनता चुप नबस्ने चेतावनी दिएका थिए। कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार तथा युवाको भविष्य संकटमा पार्ने नेतृत्वप्रति तीव्र आलोचना गरिएको थियो।
अधिवेशनले वडा तहबाटै भ्रष्टाचार, नातावाद–कृपावाद र दलाली प्रवृत्तिको अन्त्य गर्दै जनउत्तरदायी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा सहभागी युवाहरूले अब भाषणमुखी राजनीति होइन, काम गरेर देखाउने राजनीतिक संस्कार आवश्यक रहेको उल्लेख गर्दै वैकल्पिक राजनीतिक शक्तिको पक्षमा सक्रिय रहने संकल्प व्यक्त गरे।
धनपालथानबाट सुरु भएको यस राजनीतिक सन्देशले मोरङ मात्र होइन, प्रदेश तथा समग्र देशको राजनीतिमा नयाँ बहस र तरंग ल्याउने अपेक्षा गरिएको छ।