नयाँ जोश र सुशासनको संकल्पसहित देशको नेतृत्व लिन कांग्रेस तयार : महामन्त्री पौडेल

नयाँ जोश र सुशासनको संकल्पसहित देशको नेतृत्व लिन कांग्रेस तयार : महामन्त्री पौडेल

कोशी आवाज २०८२ माघ २ गते शुक्रबार ।

मोरङ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस नयाँ जोश, नयाँ योजना र सुशासनको दृढ संकल्पसहित देशको नेतृत्व लिन पूर्ण रूपमा तयार भएको बताएका छन्। उनले कांग्रेसलाई थप गतिशील, जनउत्तरदायी र विधिसम्मत बनाउन सबैको साझा प्रयासले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

महामन्त्री पौडेलले दोस्रो विशेष महाधिवेशनमा सहभागी नभएका नेता–कार्यकर्तालाई समेत अब पार्टीमा जोडिन आह्वान गर्दै कांग्रेस सधैं एकताबद्ध रहेको र भविष्यमा पनि सँगै अघि बढ्ने स्पष्ट पारे। उनले पार्टीभित्र कसैले पनि आफूलाई पराजित भएको अनुभूति गर्न नपर्ने बताउँदै सबै मन र मुटुलाई एउटै छातामुनि गोलबद्ध गर्न इमान्दार प्रयास जारी रहने बताए।

उनले आगामी यात्रामा युवा पुस्ता, विशेषगरी ‘जेन–जी’ ले उठाएका आवाजलाई बुलन्द बनाउँदै चारतारे झण्डामुनि सबैलाई एकताबद्ध गरिने उल्लेख गरे। बदलिएको नीति र नेतृत्वसहित पार्टीलाई अझ सबल बनाउने लक्ष्यसाथ सबैलाई आ–आफ्नो स्थानबाट सक्रिय सहभागिताका लागि उनले आह्वान गरे। साथै, जेन–जी पुस्ताका युवालाई रुपान्तरणको आकांक्षा बोकेको नेपाल निर्माणको महाअभियानमा सहकार्य गर्न आग्रह गरे।

महामन्त्री पौडेलले मुलुक आम निर्वाचनको संघारमा उभिएको सन्दर्भ उल्लेख गर्दै आम नागरिकले सबल, सक्षम, एकताबद्ध र विधिमा चल्ने नेपाली कांग्रेसको खोजी गरिरहेको बताए। उनले आगामी निर्वाचनमार्फत देशको बागडोर सम्हाल्ने र नागरिकको समृद्धिको सपना पूरा गर्ने दिशामा कांग्रेस केन्द्रित हुनुपर्ने धारणा राखे।

उनका अनुसार अब नागरिकसमक्ष कांग्रेसले स्पष्ट सन्देश दिनुपर्ने समय आएको छ—
“कांग्रेस रूपान्तरण भएको छ, अब कांग्रेसले देशको रूपान्तरण गर्नेछ।”