

पत्रकारहरूको विरोध: कोशी प्रदेश सरकारले ल्याउन लागेको सञ्चार विधेयकविरुद्ध प्रदर्शन ।
कोशी आवाज २०८२ भदौ १२ गते बिहीबार ।
विराटनगर । कोशी प्रदेश सरकारले ल्याउन लागेको नयाँ सञ्चार विधेयकका विरुद्ध पत्रकार र सरोकारवालाले कडा आपत्ति जनाएका छन्। पत्रकार महासंघ र सञ्चारकर्मीहरूले उक्त विधेयकलाई “पत्रकारको कलममाथि हमला” र संविधानमा अंकित मौलिक हकको खुला अपमानका रूपमा लिएका छन्।
आज मुख्यमन्त्री कार्यालय अगाडि गरिएको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावपूर्ण भएको थियो। पत्रकार महासंघले प्रहरीले प्रदर्शनलाई दमन गरी प्रदेश सरकार आलोचना सहन असक्षम रहेको स्पष्ट भएको बताएको छ।
पत्रकारहरूले एक विज्ञप्तिमार्फत चेतावनी दिएका छन्, “पत्रकारलाई तर्साएर, थुनेर वा कलम रोक्न खोज्ने प्रयास कहिल्यै सफल हुँदैन।” त्यसका साथै उनीहरूले संविधानको मर्म र जनताको बल सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहने कुरा पनि स्पष्ट पारेका छन्।
सञ्चारकर्मीहरूले सरकारले ल्याउन लागेको विधेयक फिर्ता नलिएसम्म विरोध आन्दोलनलाई थप तीव्र बनाउन चेतावनी दिएका छन्। यस घटनाले पत्रकारिता र प्रेस स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाएको छ।