कर्सिया बजार व्यवस्थापनमा सुधारको प्रयास, धनपालथान गाउँपालिकाले निरन्तर गर्दैछ काम ।
कोशी आवाज २०८३ आसर १३ गते सनिवार ।
धनपालथान । मोरङको धनपालथान गाउँपालिका–स्थित कर्सिया बजारमा बजार व्यवस्थापन, सरसफाइ, सडक अतिक्रमण, सार्वजनिक सेवासुविधा तथा नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउन स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। बजारलाई व्यवस्थित, सफा, सुरक्षित र सेवामैत्री बनाउन तत्काल आवश्यक सुधारका कदम चाल्नुपर्ने उनीहरूको माग छ। साथै, पछिल्लो समय गाउँपालिकाले गरेका विभिन्न विकास निर्माणका कार्यप्रति स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन्।
स्थानीयका अनुसार कर्सिया बजारको सरसफाइका लागि दैनिक ४ हजार ४ सय रुपैयाँको दरले टेन्डर आह्वान गरिएको भए पनि उक्त बजेटले प्रभावकारी रूपमा सरसफाइ गर्न कठिन हुने देखिएको छ। पाँच जना सफाइ कर्मचारी परिचालन गर्नुका साथै ट्याक्टरमार्फत फोहोर ढुवानी गर्नुपर्ने भएकाले पर्याप्त बजेट व्यवस्थापन गरेर मात्रै टेन्डर प्रक्रिया सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ।
बजारका अधिकांश पसलले सडक पेटीमै सामान राख्ने तथा पसलअगाडि बनाइएका संरचनासमेत पैदलमार्गमा फैलिँदा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भइरहेको स्थानीयको गुनासो छ। त्यस्तै हुलाकी सडकअन्तर्गत हटिया क्षेत्रमा सडकमै खुद्रा व्यापार सञ्चालन हुँदा पैदलयात्री र सवारीसाधन दुवैलाई समस्या हुने गरेको भन्दै सम्बन्धित निकायले तत्काल व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ।
कर्सिया बजारमा सार्वजनिक शौचालयको अभाव रहेको स्थानीयको भनाइ छ। त्यस्तै बजार क्षेत्रमा सार्वजनिक खानेपानीको व्यवस्था नहुँदा सर्वसाधारण तथा सेवाग्राहीले समस्या भोग्दै आएकाले आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने माग गरिएको छ। शैक्षिक तथा बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय स्थापना गर्नुपर्ने आवश्यकता पनि स्थानीयले औँल्याएका छन्।
दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र नापतौलको नियमित अनुगमन नहुँदा उपभोक्ता मारमा परेको गुनासो गर्दै स्थानीयले कर्सिया हटियामा नियमित बजार अनुगमन गर्न माग गरेका छन्। त्यस्तै नेपालमा प्रतिबन्धित भनिएका भारतीय पेय पदार्थहरू बजारमा बिक्री भइरहेको दाबी गर्दै सम्बन्धित निकायले आवश्यक छानबिन र कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।
कर्सिया हटियामा बिक्री हुने खसीको मासुको गुणस्तर तथा सम्भावित मिलावटबारे नियमित परीक्षण गर्नुपर्ने मागसमेत गरिएको छ। साथै, नेपालभर प्रतिबन्धित भनिएको मङ्गरी माछा बजारमा अझै बिक्री भइरहेको दाबी गर्दै त्यसतर्फ पनि सम्बन्धित निकायले निगरानी बढाउनुपर्ने स्थानीयको माग छ।
मदिरा बिक्री–वितरणका लागि निश्चित समयसीमा तोक्नुपर्ने आवश्यकता पनि स्थानीयले औँल्याएका छन्। हाल रातिसम्म मदिरा बिक्री भइरहेकाले यसको नियमन गर्नुपर्ने उनीहरूको भनाइ छ।
फोहोर व्यवस्थापनमा पनि सुधार आवश्यक रहेको स्थानीयको गुनासो छ। बजारका विभिन्न स्थानबाट संकलन गरिएको फोहोर एकै ठाउँमा दुई–चार दिनसम्म थुपारेर राख्दा दुर्गन्ध फैलिने, वातावरण प्रदूषित हुने तथा स्वास्थ्यमा असर पर्ने भएकाले फोहोर संकलनसँगै तत्काल उचित व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ। गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रिता खतिवडाले कर्सिया बजार व्यवस्थापनका लागि पालिकाले थप योजना बनाइ रहेको बताइन । उनले भनिन,”कर्सिया पशु बजार सञ्चालन गर्नका लागि पनि सूचना प्रकाशन गरिएको छ । ”
यस्तै, कर्सिया बजारमा सिटी टेम्पुहरू जथाभावी पार्किङ गर्ने समस्या पनि रहेको स्थानीयले बताएका छन्। हालसम्म व्यवस्थित पार्किङ स्थल नबनाइएकाले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ। सिटी टेम्पुका लागि छुट्टै पार्किङ तथा जक्सन निर्माण गरी सञ्चालनमा ल्याउन सके दुर्घटनाको सम्भावना कम हुने र सर्वसाधारणलाई आवतजावतमा सहज हुने विश्वास स्थानीयको छ। गाउँपालिका उपाध्यक्ष नसिमा बानोले कर्सिया बजार व्यवस्थापनमा पालिकाले निरन्तर काम गरिरहेको बताइन् ।
यसैबीच, धनपालथान गाउँपालिकाले पछिल्लो समय सञ्चालन गरेका विभिन्न विकास निर्माणका कामप्रति स्थानीयवासीले प्रशंसा गरेका छन्। विशेषगरी लामो समयदेखि अलपत्र रहेको कटहरी–कर्सिया हुलाकी सडक निर्माणलाई गाउँपालिकाले पहल गरी कालोपत्रे गराएपछि स्थानीयमा खुसी छाएको छ। विगत आठ–नौ वर्षदेखि जीर्ण अवस्थामा रहेको उक्त सडकका कारण यात्रुले सास्ती भोग्दै आएका थिए। समयमै पहल गरेर सडक निर्माण सम्पन्न गराएको भन्दै स्थानीयले गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन्।
त्यसैगरी, विगत केही वर्षदेखि जीर्ण र अव्यवस्थित अवस्थामा रहेको बीपी चोकको पुनःव्यवस्थापन तथा बीपीको सालिक निर्माण कार्यलाई पनि स्थानीयले सकारात्मक रूपमा लिएका छन्। यसले बजारको सौन्दर्य बढाउनुका साथै ऐतिहासिक महत्वसमेत जोगाएको उनीहरूको भनाइ छ।
धनपालथान गाउँपालिकाले कर्सिया बजारमा सडक बत्ती जडान गरेपछि रातिको समयमा आवतजावत सहज हुनुका साथै सुरक्षा व्यवस्था पनि मजबुत भएको स्थानीयले बताएका छन्। यस कार्यको व्यापक प्रशंसा भइरहेको छ।
त्यसैगरी, कर्सिया बजारको सौन्दर्य अभिवृद्धिका लागि हरियालीकरण अभियान पनि सुरु गरिएको छ। सडक किनारमा वृक्षारोपण तथा हरियाली विस्तार गर्ने कार्यले बजारको वातावरण थप आकर्षक बन्दै गएको भन्दै स्थानीयवासीले गाउँपालिकाको यस अभियानको खुलेर प्रशंसा गरेका छन्।
स्थानीयवासीले बजार व्यवस्थापनका बाँकी समस्याहरू पनि क्रमिक रूपमा समाधान गर्दै विकास र व्यवस्थापनलाई सँगसँगै अघि बढाउन सम्बन्धित निकाय, जनप्रतिनिधि तथा सरोकारवाला पक्षसँग आग्रह गरेका छन्।