विराटनगर आगजनी प्रकरणका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि कारागार चलान ।
कोशी आवाज २०८३ असार १२ गते शुक्रबार।
विराटनगर । गत वर्ष भदौ २४ गते विराटनगरमा जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोड प्रकरणका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
शुक्रबार अदालतमा स्वेच्छिक रूपमा उपस्थित भएका अन्सारीको बयान तथा थुनछेक बहसपछि अदालतले नापी कार्यालयमा भएको आगजनी तथा तोडफोडसँग सम्बन्धित आपराधिक उपद्रव मुद्दामा थुनामा राखेर पुर्पक्ष अघि बढाउन आदेश दिएको हो। आदेशपछि उनलाई जिल्ला कारागार मोरङ पठाइएको छ।
यद्यपि, जिल्ला सरकारी वकिल कार्यालयसँग सम्बन्धित अर्को आपराधिक उपद्रव मुद्दामा अदालतले अन्सारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको भए पनि उक्त रकम हालसम्म दाखिला नभएको जनाइएको छ।
गत वर्ष भदौ २४ गते विराटनगरमा भएको हिंसात्मक घटनाका क्रममा सरकारी कार्यालय, सार्वजनिक संरचना तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। प्रहरी अनुसन्धानका आधारमा केही सरकारी कार्यालयमा भएको आगजनी तथा तोडफोडमा अन्सारीको संलग्नता रहेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
यसअघि पक्राउ परेर हाजिरजमानीमा छुटेका अन्सारी अदालतमा नियमित रूपमा उपस्थित नभएपछि फरार प्रतिवादी घोषित भएका थिए। पक्राउ पुर्जी जारी भए पनि लामो समयसम्म सम्पर्कविहीन रहेका उनी शुक्रबार स्वयं अदालतमा उपस्थित भएका हुन्।
यस घटनासँग सम्बन्धित अन्य अभियुक्तविरुद्धका मुद्दा भने जिल्ला अदालत मोरङमा विचाराधीन रहेका छन्।