रंगेली प्रहरीले चोप्रहा बोर्डरबाट ६.७३० ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई जनालाई पक्राउ गर्यो । मलद्वारमा लागूऔषध लुकाएर ओसारपसार गर्ने दुई जना प्रहरी नियन्त्रणमा ।
कोशी आवाज २०८३ कार्तिक २० गते शुक्रबार ।
बिराटनगर । मोरङको रंगेली प्रहरीले चोप्रहा सीमा नाकाबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको ६.७३० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अशोककुमार झाको नेतृत्वमा खटिएको प्रहरी टोलीले चोप्रहा बोर्डरबाट शंकास्पद अवस्थामा रहेका दुई जनालाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–८ निवासी २६ वर्षीय खिमबहादुर कटुवाल रहेका छन्। उनको मलद्वारमा लुकाएर ल्याइएको ४.२३० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको छ।
त्यस्तै, बेलबारी नगरपालिका निवासी ३३ वर्षीय विवेक राईको मलद्वारमा लुकाइएको २.५०० ग्राम उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवै जनाबाट कुल ६.७३० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।
रंगेलीका विभिन्न सीमावर्ती नाकाबाट पटक–पटक लागूऔषध बरामद भइरहेका बेला पछिल्लो घटनाले सीमा क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणको चुनौतीलाई पुनः उजागर गरेको छ।