अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा रतुवामाई नगरपालिकाले मोची समुदायलाई ऐतिहासिक रूपमा सम्मानित गर्दै श्रमको सम्मानलाई नयाँ उचाइमा पुर्‍यायो

कोशी आवाज

२०८२ १८ गते शुक्रबार

मोरङ — अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसर पारेर रतुवामाई नगरपालिकाले “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नारासहित नगरभित्र जुत्ता सिलाउने तथा मर्मत गर्ने परम्परागत श्रममा संलग्न श्रमिकहरूप्रति सम्मान व्यक्त गर्दै एक उदाहरणीय कार्यक्रम सम्पन्न गरेको छ।

   

कार्यक्रममा नगरभित्रका नौ जना मोची पेशामा आबद्ध श्रमिकहरूलाई सम्मानसहित सामग्री वितरण गरिएको थियो। सम्मान स्वरूप उनीहरूलाई एक/एकवटा टिनाको बाकस, ठूलो छाता, चारवटा बस्ने टोल, र एक/एक वटा टिसर्ट प्रदान गरिएको हो। यो सामग्री र सम्मान हस्तान्तरण नगरप्रमुख नागेश्वर प्रसाद सिंह, उप–मेयर दोमयन्ता देवी चुडाल, प्रमुख प्रशासकीय अधिकृत डम्मरु बल्लभ बराल, रोजगार संयोजक प्रदीप निरौला, नगरप्रमुखका स्वकीय सचिव सुजित चौधरी, विभिन्न वडाध्यक्षहरू, नगरपालिका कर्मचारी तथा स्थानीय बुद्धिजीवीहरूको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

सम्मान प्राप्त गर्नेहरूमा वडा नं. ४ का भोगेन्द्र राम मोची, बहादुर मुची, गणेशराम मोची, वडा नं.

७ का विजयकुमार मोची र बेचनलाल मोची, वडा नं. ९ का सामेल मोची, वडा नं. १० का रामकुमार सार्की, कृष्णबहादुर तोलाङ्गी र चतुरमान तोलाङ्गी रहेका छन्।

सम्मानित श्रमिक गणेशराम मोचीले “हामीजस्ता परिश्रमी तर उपेक्षित पेशामा लागेकाहरूलाई यति ठूलो सम्मान मिल्दा अत्यन्तै गर्व लागेको छ,” भनेका छन्। अर्का श्रमिक विजयकुमार मोचीले भने, “आजसम्म हामीलाई यसरी कसैले मायामान सम्मान गरेका थिएनन्, पालिकाले यस्तो ऐतिहासिक कार्य गरेर हाम्रो आत्मबल बढाइदिएको छ,” भन्दै नगरपालिका प्रति आभार व्यक्त गरे।

यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत डम्मरु बल्लभ बरालले पालिकाभित्र कुनै पनि श्रमिकको श्रमको शोषण वा दबाबमा काम गराइएको थाहा पाएमा तत्काल कानुनी कारबाही गरिने चेतावनीसमेत दिए।

यो कार्यक्रम न केवल रतुवामाई नगरपालिकाको सामाजिक उत्तरदायित्वप्रति प्रतिवद्धता देखाउने प्रतीक बनेको छ, तर सम्पूर्ण देशभरिका पालिकाहरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने उदाहरणीय कार्य भएको हो। जानकारहरूका अनुसार, मोरङ जिल्लामै पहिलो पटक कुनै पालिकाले मोची समुदायलाई यति औपचारिक रूपमा सम्मान गरेको हो।