अध्यादेशबारे उठेको आलोचनामा सरकारको प्रतिवाद । कोशी आवाज २०८३ वैशाख १७ गते बिहीबार ।
विराटनगर । सरकारले हालै ल्याएका अध्यादेशबारे उठेको आलोचनामा प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असीम साहले कडा प्रतिक्रिया दिएका छन्।
साहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यादेशहरू कुनै स्वार्थ समूह वा व्यक्तिको हितका लागि नभई नागरिक हित र राज्य सुधारका लागि ल्याइएको दाबी गरेका छन्। उनका अनुसार प्रशासनिक जटिलता हटाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन अध्यादेश आवश्यक परेको हो।
मन्त्रिपरिषद्ले यही उद्देश्यका साथ ६ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको उल्लेख गर्दै उनले ती अध्यादेशमा निजामती ट्रेड युनियन व्यवस्थापन, राजनीतिक नियुक्तिको पुनःसंरचना तथा विश्वविद्यालय र संवैधानिक निकायहरूमा सुधारसम्बन्धी महत्वपूर्ण प्रावधान समेटिएको बताएका छन्।
सल्लाहकार साहले डेडलक अन्त्य गरी नतिजामुखी शासन व्यवस्था स्थापना गर्न अध्यादेश आवश्यक कदम भएको दाबी गर्दै यसले देशको समृद्धि यात्रालाई गति दिने विश्वास व्यक्त गरेका छन्।