मोरङको जहदा गाउँपालिका–२ तारिगमा ३३० केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ
कोशी आवाज २०८२ पुष १२ गते आइतबार ।
विराटनगर । मोरङको जहदा गाउँपालिका–२ तारिगमा गाँजा भारततर्फ लैजाँदै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३३० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
गाजा नेपालबाट भारततर्फ लैजाँदै गरेको भन्ने सूचनापछि प्रहरी टोलीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। सो क्रममा टाउकोमा गाँजाको बोरा बोकी लैजाँदै गरेका व्यक्तिहरूले प्रहरी देखेपछि बोरा फालेर भाग्ने प्रयास गरेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले ठूलो चापेबाट १ राउण्ड हवाई फायर गरेको जनाइएको छ।
प्रहरीले घटनास्थलबाट ३३० केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ। पक्राउ पर्नेहरू भारतको अररिया जिल्ला, चन्दामोहन वार्ड नं. ५ बस्ने २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।