जेन–जी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी पूर्वमन्त्री सुमना श्रेष्ठ पुनः सोही पार्टीमा फर्किने तयारीमा ।
कोशी आवाज २०८२ पुस १२ गते आइतबार ।
मोरङ । जेन–जी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी पूर्वमन्त्री सुमना श्रेष्ठ पुनः सोही पार्टीमा फर्किने तयारीमा रहेकी छन्। यसपटक उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको टिममार्फत रास्वपामा समाहित हुन लागेकी हुन्।
पार्टीभित्र एक व्यक्तिको अत्यधिक देवात्वकरण गरिएको, फरक मत राख्नेलाई असहज वातावरण सिर्जना गरिएको तथा आफूमाथि अनावश्यक ‘मिडिया ट्रायल’ भएको आरोप लगाउँदै सुमना श्रेष्ठले गत भदौ २९ गते रास्वपा परित्यागको घोषणा गरेकी थिइन्। पार्टी छोडेपछि उनी वैकल्पिक राजनीतिक शक्ति निर्माणको पक्षमा उभिँदै ऊर्जा क्षेत्रमा चर्चित व्यक्तित्व कुलमान घिसिङ, जेन–जी अभियन्ता सुदन गुरुङ तथा मेयर बालेन शाहसँग निरन्तर संवादमा रहँदै आएकी थिइन्।
हालै रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच राजनीतिक सहमति भएपछि सुमना श्रेष्ठ पनि उक्त समीकरणमा समाहित हुन लागेको स्रोतले जनाएको छ। स्रोतका अनुसार बालेनको टिमबाट उनलाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारका रूपमा सिफारिस गर्ने तयारी भइरहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार सुमना श्रेष्ठको पुनरागमनलाई रास्वपाभित्र देखिएको आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्ने प्रयासका रूपमा हेरिएको छ। बालेन–रवि सहमतिपछि पार्टीलाई फराकिलो बनाउँदै नयाँ र पुराना असन्तुष्ट पात्रहरूलाई समेट्ने रणनीतिअन्तर्गत सुमनाको पुनः प्रवेशलाई महत्वपूर्ण मानिएको छ।
यसअघि रास्वपाभित्र नीतिगत बहस, समावेशी नेतृत्व र आन्तरिक लोकतन्त्रको वकालत गर्ने नेतृका रूपमा परिचित सुमना श्रेष्ठको पुनरागमनले पार्टीभित्र वैचारिक बहस पुनः सक्रिय हुने अपेक्षा गरिएको छ। साथै, आगामी निर्वाचनमा बालेन–रवि गठबन्धनलाई थप बल पुग्ने विश्लेषण गरिएको छ।
यद्यपि, सुमना श्रेष्ठको पुनः प्रवेशले पार्टीभित्र विगतका विवाद र असन्तुष्टिहरू समाधान गर्छ वा नयाँ बहसको सुरुआत हुन्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।