धर्म–संस्कृति संरक्षणको सन्देशसहित बटरवारीमा भव्य सामा–चकेवा उत्सव सम्पन्न।
कोशी आवाज २०८३ मङ्सिर ११ गते शुक्रबार ।
बिराटनगर । ‘विश्व शान्तिका लागि धर्म संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ मोरङको सुनवर्षी नगरपालिका–४, बटरवारीमा महिला समूहको आयोजनामा भव्य सामा–चकेवा उत्सव सम्पन्न भएको छ।
स्थानीय मुख्य चोकमा आयोजित कार्यक्रममा महिला, बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा महिला समूहकी अध्यक्ष मीनादेवी यादवले मैथिली मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे रहनुभएको थियो। विशिष्ट अतिथिमा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–२ का सभापति यज्ञबहादुर कार्की र सुनवर्षी–४ का वडाध्यक्ष छेदिया यादव (सेदी) रहनुभएको थियो।
त्यसैगरी पूर्वप्रधानाध्यापक चम्रु यादव, विनोद यादव, अमित यादव, प्रकाश यादव, अमरलाल यादव लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सुजाता यादव र पत्रकार सुनिल यादवले गर्नुभएको थियो।
उत्सवले लोप हुँदै गएको मैथिली कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना फैलाउन सकारात्मक सन्देश दिएको छ।