कोशीबाट ३५ वर्षमुनि खुलातर्फ एक्ला उम्मेदवार भएको मोजाहिद हकको दाबी, मागे मतदाताको साथ ।
कोशी आवाज २०८३ असोज २३ गते शुक्रबार ।
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिको युवा समूहबाट खुला केन्द्रीय सदस्य पदमा विराटनगर–१७ निवासी मोजाहिद हकले उम्मेदवारी दिएका छन्। कोशी प्रदेशबाट खुलातर्फ युवा समूहमा आफू एक्लो उम्मेदवार रहेको दाबी गर्दै उनले महाधिवेशन प्रतिनिधिसँग मत र सहयोग मागेका छन्।
डेढ दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हक विद्यार्थी जीवनदेखि नै पार्टीका संगठनात्मक गतिविधिमा संलग्न रहँदै आएका छन्। पार्टीका विभिन्न अभियानमा सहभागी हुनुका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय उनले युवा पुस्ताको आवाजलाई पार्टीको केन्द्रीय निर्णय प्रक्रियासम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
‘खुलातर्फ उम्मेदवारी दिने आँट गरेको छु। अब सबै भगवान्सरहका मतदाताको हातमा छ,’ हकले भने, ‘मेरो जीवनको उद्देश्य जित्ने वा सिक्ने हो। हार भन्ने शब्द मेरो शब्दकोशमा छैन।’
मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने हकले आफ्नो उम्मेदवारीलाई कुनै एउटा समुदायमा मात्र सीमित नराखी युवा पुस्ता र सबै समुदायको प्रतिनिधित्वसँग जोडेर हेर्नुपर्ने बताएका छन्। युवा नेतृत्वमा सबै समुदायको अपनत्व स्थापित हुनुपर्ने उनको भनाइ छ।
‘युवा केन्द्रीय सदस्यमा सबै समुदायको अपनत्व हुनुपर्छ भन्ने मान्यताका साथ मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘३५ वर्षमुनिको युवा केन्द्रीय सदस्यका रूपमा निर्वाचित गराउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिसँग मत र सहयोगको अपिल गर्दछु।’
राजनीतिसँगै सामाजिक गतिविधिमा पनि संलग्न हक लियो तथा लायन्स क्लब, करिब फाउन्डेसन, युथ युनिटी क्लब अफ नेपाल र फिड द निड नेपाल क्लबलगायत संस्थामार्फत विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएका छन्।
युवा पुस्ताको प्रतिनिधित्व, समावेशिता र पार्टीको निर्णय प्रक्रियामा युवाको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखेर आफूले उम्मेदवारी दिएको हकले बताएका छन्।