खगेन्द्र सुनारको दाबी : ‘प्रहरी निगरानी बढेको छ, छानबिनका नाममा फसाउने प्रयास हुँदैछ’ ।
कोशी आवाज २०८३ असोज २२ गते बिहीबार ।
बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध प्रहरी निगरानी बढाइएको र छानबिनका नाममा आफूलाई फसाउने प्रयास भइरहेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै सुनारले आन्दोलन थालेको सात वर्षको अवधिमा आफू दर्जनौँ पटक प्रहरी हिरासतमा परेको, धरपकड, मुद्दा तथा कुटपिटलगायतका घटनाको सामना गरेको बताएका छन्।
उनले आफूले उठाउँदै आएका भ्रष्टाचार तथा सुशासनका प्रश्नबाट ध्यान मोड्न आफ्ना विगतका आन्दोलनका फोटो–भिडियोलाई अपराधीकरण गरेर प्रचार गर्ने प्रयास भइरहेको दाबी गरेका छन्।
सुनारले देशको आर्थिक अवस्था, बेरुजु, सरकारी संरचना, वैदेशिक ऋण तथा भ्रष्टाचारका विषयमा प्रश्न उठाउँदै जनप्रतिनिधिका रूपमा देशको अवस्था नजिकबाट हेर्दा आफू थप चिन्तित बनेको बताएका छन्। उनले प्रहरी तथा कर्मचारीतन्त्रमा सुधार नभएसम्म सुशासन सम्भव नहुने धारणा पनि राखेका छन्।
आफूमाथि अनुसन्धान भए आफू त्यसका लागि तयार रहेको उल्लेख गर्दै सुनारले आफ्ना कमजोरी वा बदमासी प्रमाणित भए पदमा नरहने बताएका छन्। साथै प्रहरी तथा कर्मचारीतन्त्रमा हुने भनिएका अनियमितताको समेत निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ।
सुनारले आफ्नो सामाजिक सञ्जाल पोस्टमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक पौडेल थरका प्रहरी निरीक्षकको नेतृत्वमा टोली गठन भएको, आफू, परिवार तथा आफन्तको सम्पत्ति र विवरणमाथि निगरानी भइरहेको तथा बैंक, टेलिकम, ह्वाट्सएप र फेसबुकसँग सम्बन्धित विवरण मागिएको दाबीसमेत गरेका छन्। यी दाबीबारे सम्बन्धित प्रहरी निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको पुष्टि भएको छैन।
यसअघि पनि सांसद सुनारले प्रहरी संगठनमा आर्थिक अनियमितताका विषयमा प्रश्न उठाउँदै आएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा उनले प्रहरीका जुत्ता, मोजा, पोसाक तथा रासन खरिदमा अनियमितता भएको आरोप लगाएका थिए। त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सुनारबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोपसमेत भएको थियो।
सुनारले पछिल्लो अभिव्यक्तिमा आफूले उठाएका विषयमा अनुसन्धान जारी राख्ने संकेत गर्दै ‘प्रहरी र कर्मचारी नसुधारी सुशासन सम्भव छैन’ भन्ने धारणा व्यक्त गरेका छन्।