नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्रीमा राजेशकुमार गुप्ताको दाबी ।

नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्रीमा राजेशकुमार गुप्ताको दाबी ।

कोशी आवाज २०८३ असोज २९ गते बिहीबार ।

विराटनगर । नेपाली कांग्रेसभित्र सक्रिय रहँदै आएका राजेशकुमार गुप्ता कोशी प्रदेश कांग्रेसको आगामी अधिवेशनमा महामन्त्री पदका आकांक्षीका रूपमा देखिएका छन्।

विराटनगर–रानी निवासी गुप्ता हाल पार्टीको कोषाध्यक्षका रूपमा कार्यरत छन्। उनी मोरङ–५ बाट महाधिवेशन प्रतिनिधि तथा नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यसमेत हुन्। गुप्ताले यसअघि पार्टीको उद्योग विभाग प्रमुखका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।

गुप्ता पहिलो प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए। त्यसपछि दोस्रोपटक अवसर पाए पनि उनी उम्मेदवार बन्न पाएनन्। आगामी पाँच वर्ष पार्टी संगठनमा सक्रिय भएर काम गर्ने बताउँदै उनले प्रदेश राजनीतिका लागि यसपटक केन्द्रमा अवसर हुँदाहुँदै पनि उम्मेदवार नबनेको बताएका छन्।

गुप्ता २००७ सालका क्रान्तिकारी सेनानीका छोरा हुन्। लामो समयदेखि नेपाली कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका गुप्ताले प्रदेश महामन्त्रीमा दाबी प्रस्तुत गरेसँगै कोशी प्रदेश कांग्रेसको आन्तरिक समीकरणमा उनको भूमिकालाई चासोका साथ हेरिएको छ।

नेपाली कांग्रेसको कोशी प्रदेशमा दुई जना महामन्त्री रहने व्यवस्था छ। प्रदेश सभापतिका लागि भने हालसम्म उद्धव थापा, डिकबहादुर लिम्बू र रमेशजंग रायमाझीले उम्मेदवारी घोषणा गरेका छन्। थापा वर्तमान प्रदेश सभापति हुन् भने लिम्बू मोरङ कांग्रेसमा दुई कार्यकाल सभापति भइसकेका छन्। रायमाझी प्रदेश कांग्रेसका उपसभापति हुन्।