रंगेलीका विद्यालयमा कक्षा ८ को नतिजा कमजोर, शैक्षिक गुणस्तरमाथि प्रश्न
रंगेली । रंगेली नगरपालिकाका सामुदायिक विद्यालयहरूको कक्षा ८ को परीक्षाफल निकै कमजोर देखिएपछि स्थानीय शिक्षाको गुणस्तरमाथि प्रश्न उठेको छ।
नगरका नाम चलेका विद्यालयहरूको नतिजा निराशाजनक छ। आदर्श माध्यमिक विद्यालयमा ६१ जना विद्यार्थीमध्ये १ जना मात्रै उत्तीर्ण भएका छन्। पब्लिक सेकेन्डरी स्कुल रंगेलीमा ९० जनामध्ये १० जना मात्रै पास भए। अनुभवी प्रधानाध्यापक र शिक्षक भएका भनिएका विद्यालयको यस्तो नतिजाले अभिभावक र सरोकारवाला चिन्तित भएका छन्।
अन्य विद्यालयको अवस्था पनि सन्तोषजनक छैन।
– *जनप्रिय मावि*: ६८ जनामध्ये १६ जना उत्तीर्ण
– *त्रिभुवन मावि*: ६२ जनामध्ये ६ जना उत्तीर्ण
– *लक्ष्मी आधारभूत विद्यालय, दौलतपुर*: १९ जनामध्ये एक जना पनि उत्तीर्ण भएनन्
– *प्रगतिशील मावि*: १९ जनामध्ये १० जना उत्तीर्ण
– *महेन्द्र मावि*: ३५ जनामध्ये १३ जना उत्तीर्ण
– *भगवती मावि*: १६ जनामध्ये एक जना पनि उत्तीर्ण भएनन्
त्यसैगरी, रत्न माविमा ३२ जनामध्ये २४, जनता मावि आमतोला र आमगाछीमा २५–२५ जनामध्ये १–१ जना मात्रै उत्तीर्ण भए। जनता मावि बहुवानमा ५४ जनामध्ये १२ जना पास भए।
केही विद्यालयको नतिजा भने तुलनात्मक रूपमा राम्रो देखिएको छ।
– *गणेश मावि, चोप्राहा*: ६६ जनामध्ये ४१ जना उत्तीर्ण
– *महालक्ष्मी मावि, दर्वेशा*: ३७ जनामध्ये ३६ जना उत्तीर्ण
– *पार्वती मावि, फर्सडाँगी*: २८ जनामध्ये २३ जना उत्तीर्ण
शिक्षाविद्हरूका अनुसार समग्र नतिजाले शिक्षण-सिकाइ प्रक्रिया, विद्यार्थीको आधारभूत सिकाइ स्तर र मूल्याङ्कन प्रणाली कमजोर रहेको देखाउँछ।
यस अवस्थामा विद्यालय प्रशासन, शिक्षक र सम्बन्धित निकायले नतिजाको गम्भीर समीक्षा गरी सुधारका ठोस कदम चाल्नुपर्ने देखिएको छ, जसले आगामी दिनमा शैक्षिक उपलब्धि बढाउन मद्दत पुग्नेछ।