संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री शाह : ‘जलवायु न्याय नारामा होइन, व्यवहारमा देखिनुपर्छ’।
कोशी आवाज २०८३ असोज ९ गते शुक्रबार।
विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति तथा नोक्सानीका लागि अन्तर्राष्ट्रिय समुदायले जलवायु न्याय, पर्याप्त आर्थिक सहयोग र क्षतिपूर्तिको व्यवस्था सुनिश्चित गर्नुपर्ने बताएका छन्। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायुजन्य विपद्को असमान प्रभाव भोगिरहेको विषय प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएका हुन्।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई उदाहरण दिँदै शाहले जलवायु परिवर्तनले कुनै देशको सीमा नचिन्ने बताएका छन्। उनले हिमनदी पग्लिने, पर्माफ्रोस्ट कमजोर हुने तथा बाढी, पहिरो र हिमपहिरोजस्ता जोखिम बढ्दै गएको उल्लेख गर्दै हिमालय संरक्षणलाई विश्वव्यापी प्राथमिकताका रूपमा लिन आग्रह गरे।
प्रधानमन्त्री शाहले विपद्पछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलतालाई दीर्घकालीन आधार बनाउनुपर्ने धारणा राखे। जलवायु वित्तका विद्यमान संयन्त्र पर्याप्त नभएको भन्दै प्रभावित तथा जोखिममा रहेका देशलाई सहज र अनुदानमा आधारित सहयोग उपलब्ध गराउनुपर्ने उनको जोड थियो।
शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमाली जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्ने प्रस्तावसमेत अघि सारे। यसअन्तर्गत भू–उपग्रह तथ्याङ्क आदानप्रदान, हिमतालको संयुक्त निगरानी, सीमापार पूर्वसूचना प्रणाली तथा विपद्का बेला उद्धार र सहायता समन्वय गर्नुपर्ने उनले बताए।
उनले जलवायु परिवर्तनसँगै विश्वव्यापी आपूर्ति प्रणाली र अन्तर्राष्ट्रिय सहकार्यका कमजोरी पनि औँल्याउँदै खाद्यान्न, मल तथा इन्धनजस्ता आधारभूत वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने बताए। युद्धका सामग्री सीमापार पुर्याउन सकिने तर किसानले आवश्यक मलसमेत समयमै पाउन नसक्ने अवस्थाप्रति उनले प्रश्न उठाए।
प्रधानमन्त्री शाहले नेपालको नयाँ पुस्ताले निष्ठा, पारदर्शिता र जवाफदेहिताको राजनीति खोजेको उल्लेख गर्दै आफ्नो सरकारको प्राथमिकता रोजगारी, सामाजिक सुरक्षा र नागरिकलाई आफ्नै देशमा प्रगति गर्ने अवसर सुनिश्चित गर्नु रहेको बताए।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले जलवायु उत्थानशीलता, बलियो पूर्वाधार, पारदर्शी संस्था, स्वच्छ ऊर्जा र प्रभावकारी पूर्वसूचना प्रणालीमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै भने— ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्।’
नेपालले महासभाको क्रममा ‘सगरमाथादेखि समुद्रसम्म’ (Sagarmatha to Sea) साइड–इभेन्टमार्फत हिमालयमा जलवायु परिवर्तनको प्रभाव र जलवायुजन्य विपद्का विषयमा अन्तर्राष्ट्रिय विमर्श अघि बढाउने कार्यक्रमसमेत राखेको छ।