रंगेली मालपोत कार्यालयमा अनियमितता ऐलानी सरकारी जग्गा किर्ते कर छली र घुसखोरीको आरोप, छानबिनको माग
रंगेली मालपोत कार्यालयमा अनियमितता ऐलानी सरकारी जग्गा किर्ते र घुसखोरीको आरोप, छानबिनको माग

कोशी आवाज २०८२ कार्तिक १८ गते मंगलबार ।

मोरङ,। रंगेली मालपोत कार्यालयमा व्यापक अनियमितता, घुसखोरी र कर छली भइरहेको आरोप लगाइएको छ। सेवाग्राहीहरूले बिना पैसाको कुनै काम नहुने गुनासो गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

स्थानीयवासीका अनुसार कार्यालयमा तस्कर, बिचौलिया र केही कर्मचारीहरूको मिलेमतोमा भ्रष्टाचार खुलेआम भइरहेको छ। मालपोतका केही अधिकारीहरू माथि गम्भीर आरोप लागेपनि अहिलेसम्म कुनै प्रभावकारी अनुसन्धान सुरु नभएको जनाइएको छ।

उनका अनुसार लाभकर लगायतका करहरू सरकारलाई बुझाउनुपर्नेमा केही व्यक्तिहरूले आफ्नै पकेटमा राख्दै कर छली गर्ने कार्य भइरहेको छ। साथै सरकारी ऐलानी जग्गा किर्ते गरी व्यक्तिको नाममा सार्ने जस्ता घटनाहरूसमेत देखा परेका छन्।

समाचार र जनगुनासो बढेपछि केही किर्ते जग्गा खारेज गरिएको भए पनि त्यसमा संलग्न व्यक्तिहरू अझै उन्मुक्त रहेका छन्। सरकारी ऐलानी जग्गा अझै कृते भएको आशंका गरिएको छ। यसले मालपोत कार्यालयभित्रको अनियमितता झनै प्रष्ट भएको स्थानीयवासीहरू बताउँछन्।

नयाँ सरकार सुशासन र पारदर्शिताको प्रतिबद्धता बोकेर आएको भए पनि व्यवहारमा सुधार नदेखिएको सेवाग्राहीहरूको भनाइ छ। उनीहरूले सम्बन्धित निकायलाई रंगेली मालपोत कार्यालयको विस्तृत छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।