कांग्रेस महाधिवेशनः संस्थापन र इतर पक्षबीच मिति प्रस्तावमा मतभेद
मंगलबार, कात्तिक १८, २०८२

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि संस्थापन र इतर पक्षले अलगअलग मिति प्रस्ताव गर्ने भएका छन् । आज दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन पक्षले चुनावपछि वैशाखाका लागि महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ ।

एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार संस्थापन पक्षका तर्फबाट उमाकान्त चौधरी, किशोरसिंह राठौर र महेन्द्र यादवमध्ये एकले महाधिवशेनको मिति प्रस्ताव गर्नेछन् भने इतर पक्षबाट महामन्त्रीद्वय गगनकुमार थापा वा विश्वप्रकाश शर्मामध्ये एकले चुनावअघि नै महाधिवेशन गर्ने मितिको प्रस्ताव गर्नेछन् ।

संस्थापन पक्षका ५९ केन्द्रीय सदस्यहरूले सोमबार भेला गरेका थिए । भेलामा सहभागीमध्ये ४६ केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको भेलामा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार महाधिवेशन गरेर चुनावमा जाँदा विगतमा अन्तरघात भएर आफ्ना उम्मेदवारले हारेको नजिर हुँदा योपटक चुनावपछि मात्रै महाधिवेशन गरेर जानुपर्ने धेरैले सुझाव दिएका छन् । उनीहरूले पार्टीलाई एक बनाउन चुनाव केन्द्रित हुनुपर्नेमा जोड दिएको ती नेताले जानकारी दिए ।

‘महाधिवेशनको आलो घाउ लिएर चुनावमा जाँदा हिजो के भयो ? हामीले यस्तो बेला हतारमा चुनावमा जानु हुँदैन भन्ने धेरैको सुझाव आएको छ । सोही सुझावका आधारमा मंगलबारको बैठकमा महाधिवेशनको मिति प्रश्ताव हुने हो’, ती केन्द्रीय सदस्यले भने ।

विशेष महाधिवेशनको माग गर्ने पक्षीय केन्द्रीय सदस्य गुरु घिमिरेले चुनाव अघि कि पछि महाधिवेशन गराउने भन्ने विषयमा कांग्रेस रुमलिएको बताए । उनले संस्थापन पक्षको समूह संसद पुनर्स्थापनाको मनोविज्ञानमा रहेको देखिएको समेत बताए ।

घिमिरेले ‘१६ र १९ पुसको मिति उपयुक्त हुन्छ कि’ भन्ने महामन्त्रीहरूको प्रस्ताव रहेको, तर संस्थापन पक्ष भने २१ फागुनको चुनाव सरकारले घोषणा गरेको हुँदा वैशाखमा धकेल्ने कुरामा जोड दिइरहेको बताए र सोहीअनुसार अलगअलग प्रस्ताव आउने बुझिएको जानकारी दिए ।