बंगलादेशमा अवामी लिगका सात वरिष्ठ नेतालाई मृत्युदण्ड ।
कोशी आवाज २०८३ भदौ ३० गते मंगलबार ।
विराटनगर । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी–२) ले सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै प्रतिबन्धित अवामी लिगका सात वरिष्ठ नेतालाई मृत्युदण्ड सुनाएको छ।
मंगलबार भएको सुनुवाइमा तीन सदस्यीय न्यायाधिकरणले उनीहरूले आन्दोलनका क्रममा हिंसा भड्काउन, निर्देशन दिन वा त्यसलाई प्रोत्साहन गर्न भूमिका खेलेको ठहर गरेको हो। ‘जुलाई विद्रोह’का नामले समेत चिनिने उक्त आन्दोलनसँग सम्बन्धित मुद्दामा फैसला आएको हो।
मृत्युदण्ड पाउनेमा अवामी लिगका महासचिव तथा पूर्व सडक यातायातमन्त्री ओबैदुल कादेर, संयुक्त महासचिव एएफएम बहाउद्दिन नसीम, पूर्व सूचना तथा प्रसारण राज्यमन्त्री मोहम्मद अली अराफात, जुबो लिगका अध्यक्ष शेख फजले शाम्स पराश, महासचिव मैनुल हुसेन खान निखिल, बंगलादेश छात्र लिगका अध्यक्ष सद्दाम हुसेन र महासचिव शेख वली आसिफ एनान छन्।
न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीको अध्यक्षतामा रहेको न्यायाधिकरणले सातै अभियुक्तको अनुपस्थितिमा मुद्दाको सुनुवाइ गरेको थियो। उनीहरूको तर्फबाट अदालतले सरकारी वकिल नियुक्त गरेको थियो।
यसअघि करिब १० महिनाअघि पूर्वप्रधानमन्त्री शेख हसिनालाई पनि सोही विद्यार्थी आन्दोलनसँग सम्बन्धित मानवताविरुद्धको अपराध मुद्दामा उनको अनुपस्थितिमा मृत्युदण्ड सुनाइएको थियो।